दुलेगौँडा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाउन नेपाली कांग्रेस जुट्दै छ । वडा र स्थानीय तहमा उम्मेद्वार दिन चाहानेको आकांक्षा बुझ्दै छ कांग्रेसले ।
शुक्लागण्डकी नगरपालिकाको मेयर बन्नलाई कांग्रेसमा मात्रै १० जनाले आकांक्षा देखाएका छन् । मंगलबार भएको छलफलमा वर्तमान मेयरसँगै १० जनाले मेयर बन्नलाई आकांक्षा देखाएको शुक्लागण्डकी नगर कार्य समितिका सह-सचिव भिष्म श्रेष्ठले जानकारी दिए ।
हालका मेयर किसान गुरुङसँगै व्यवसायी कृष्णराज पण्डित, प्राध्यापक डा. कृष्णप्रसाद गौतम, महेश्वर भट्टराई, भक्तबहादुर श्रेष्ठ, सन्तोष घिमिरे, खेमराज अधिकारी, श्रीराम सुवेदी, हरि वाग्ले र माधव भट्टराई मेयरका आकांक्षी हुन् । यी मध्ये पनि हालका मेयर गुरुङ, पण्डित र भट्टराई मध्य एकले टिकट पाउने राजनीतिक वृत्तमा चर्चा छ ।
उपमेयरमा आठ जनाले पार्टीभित्र दाबी गरेको श्रेष्ठले बताए । उनका अनुसार उपमेयरमा तारा अधिकारी, चन्द्रकला भट्टराई, टिकामाया पौडेल, पम्फा थापा, प्रकाश विक, कृष्णप्रसाद रेग्मी, रेशमलाल पौडेल र विना खनालले आकांक्षा व्यक्त गरेका छन् । गठबन्धन दलबीच तालमेल हुने भएकाले कांग्रेसमा हाल उपमेयरमा को भिड्ने त्यति धेरै चर्चा भएको पाइँदैन ।
मेयर र उपमेयर पदमा आकाङ्क्षा व्यक्त गरेका पदाधिकारीको नाम नेपाली कांग्रेस शुक्लागण्डकी नगर कार्यसमितिको बुधबार बस्ने भेलाले माथिल्लो कमिटीमा पठाउने छ । ‘नगरले कसैलाई हट भन्दैन । आकाङ्क्षी आफैले उम्मेद्वारी हटाउन चाहान्छन् भने भोलि (बुधबार) सम्म हटाउन सक्छन् । यदि त्यसो भएन भने कांग्रेसको पदाधिकारीको बैठकले सबैको नाम पठाउनेछौँ ।’