दुलेगौडा । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । यस अगाडीको निर्वाचनमा जस्तै सडक, पुर्वाधार, कृषि, शिक्षा, स्वास्थ्यका योजना दोहोर्याउँदै एमालेले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारको विकास, सम्बृद्ध, समानता र समुन्नत शुक्लागण्डकीका लागि नेकपा एमालेको सरकार’ नाराका साथ पाँच वर्षमा पार्टीका जनप्रतिनिधिले गर्ने कामको १४ पृष्ठ लामो प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ ।
सामाजिक न्याय सहितको आर्थिक विकास, शुसासन र न्यायोचित वितरण सहितको आर्थिक सम्बृद्धि नेकपा एमाले शुक्लागण्डकीको विकास नीति सार भएको नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्लिसिनाले बताए । शुक्लागण्डकीमा एमाले विजयी भएपछि दिगो शान्ति र विकासलाई प्राथमिकता दिने उनको भनाई छ ।
एमाले शुक्लागण्डकीको प्रतिबद्धता पत्रमा सडक स्तरोन्नति र मोटरबेल पुल निर्माणलाई मुख्य प्राथमिकता दिईएको छ । दर्जनौँ सडक र मोटरेवल पुलहरु निर्माणका लागि प्रदेश र संघ सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने उद्घोष गरिएको छ ।
ढोरको फलाम खानीको उत्खनन् अगाडी बढाईने प्रतिबद्धता छ । सेती नदीको दुई स्थानमा चेक ड्याम निर्माण गर्दै गिट्टी वालुवाबाट आम्दानी बढाउने र स्टिमर सञ्चालन गर्दै पर्यटकीय गन्तव्य बनाउने योजना नगर कमिटी अध्यक्ष तिम्लिसिनाले सार्वजनिक गरे । ‘सेती नदीमा जलमार्गको सम्भाव्यता अध्ययन गरिनेछ । शुक्लागण्डकीमा रहेका कुम्ले खोला, सुरौँदी खोला क्याङदी खोला, म्याग्दे खोला र सेती नदीका विभिन्न भागमा उच्च बाँध निर्माण गरेर जलशायहरुमा स्थानीय यातायात तथा पर्यटकीय सेवाका लागि जलमार्गको विकास गरिनेछ’, उनले भने । नगरका फाँटहरुमा सिँचाईको व्यवस्थापन गर्दै उत्पादनमा आत्मानिर्भर गराउने लक्ष्य राखिएको छ ।
दमकल सेवा सञ्चालन, दुई हजार पाँच सय क्षमताको सिटी हल निर्माण, व्यवस्थित बसपार्क, फोहोरमैला व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, सेती नदीको सुन्दरता कायम, वडामै वर्थिङ सेन्टर र एम्बुलेन्स सञ्चालन, विदेश पढ्न जानेलाई पनि छात्रवृत्ति जस्ता महत्वकांक्षी योजनाहरु प्रतिबद्धतापत्रमा समेटिएको छ । जुन प्रतिबद्धता पत्रमा समेटिए पनि पुरा गर्न कठिन देखिन्छ ।
आगामी १० बर्षभित्र शुक्लागण्डकीको सम्मपुर्ण उत्पादनलाई औद्योगिकरण गर्ने प्रतिबद्धता छ । इलेक्ट्रिक सवारी साधनलाई अनुदान, इनडक्सन चुलोमा अनुदान, बिजुलीको युनिटमा विशेष छुट दिइने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।
नगरपालिकामा रहेका भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई नगरपालिका नै लालपुर्जा दिने प्रतिबद्धता पत्र सार्वजनिक गर्दै भनिएको छ । ‘सार्वजनिक, सरकारी र निजी जग्गाको पहिचान गरेर संरक्षण गर्ने । अव्यवस्थित बसोवासी एवम भुमिहिन दलिन, सुकुम्बासीहरुलाई दुई बर्षमा पुर्ण व्यवस्थापन गरिनेछ । नगरस्तरिय कानुन बनाई पुर्जा वितरण गरिनेछ । आवास क्षेत्र, एकीकृत कृषि, भु–उपयोग निती लागु गरिनेछ’, प्रतिबद्धता पत्रमा उल्लेख छ । संघीय सरकारले पुर्जा नदिए नगरपालिकाले सेतो पुर्जा भएपनि दुई बर्षमा बाँड्ने एमालेको उद्घोष छ ।