दमौली । नेकपा एकीकृत समाजवादी भानुका युवाहरुले पार्टीको अस्तित्व नमेटिने गरी गठबन्धनमा अगाडी बढ्न पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् । भानुका युवाहरुले शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सहित जिल्ला तहका नेताहरुलाई भेटेर पार्टीको अस्तित्व कायम रहने र गठबन्धनको मर्म र भावना समेटिने गरी सहमति गर्न आग्रह गरेका हुन् ।
भानुमा मेयरका उम्मेदवार श्रीराम पौडेलको नेतृत्वमा आएको ४० जना युवाहरुको टोलीले गठबन्धन कुनै पार्टीलाई जिताउनका लागि मात्र नभएकाले सबैको अस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।
भानुमा नेकपा एकीकृत समाजवादीको जनाधार बलियो भएकाले पौडेलको नेतृत्वमा चुनावमा जान तयार रहेको भन्दै युवाहरुले सदस्यता र संगठनलाई ध्यान दिन आग्रह गरेका छन् । ‘कांग्रेस र माओवादीलाई जिताउनका लागि मात्र होइन, गठबन्धनमा आबद्ध सबै दलले जित्नका लागि गठबन्धन आवश्यक छ,’ मेयर उम्मेदवार पौडेलले भने, ‘सबैको अस्तित्व स्वीकार गर्न सक्नुपर्छ । कसैले पनि एकतर्फी व्यवहार गर्न हुँदैन ।’