निर्वाचन सामग्री व्यवस्थापनमा जुट्यो निर्वाचन कार्यालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वाचन सामग्री व्यवस्थापनमा जुट्यो निर्वाचन कार्यालय

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०७९, शनिबार

    दमौली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एउटा मतदान केन्द्रमा ५८ वटा निर्वाचन सामग्री प्रयोग हुने भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय यतिबेला सामग्री व्यवस्थापन गर्न जुटेको छ ।

    निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन भइरहेको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि आवश्यकपर्ने बाक्सा र कर्मचारी व्यवस्थापनको काम भइरहेको छ । “केही बाक्सा हामीसँग पहिल्यै छ, नपुग भएका बाक्सा निर्वाचन आयोगबाट आउँछ”, उनले भने, “अन्य सामग्री पनि व्यवस्थापन गरिरहेका छौँ ।”

    निर्वाचन अधिकारी ढकालका अनुसार निर्वाचन सामग्री व्यवस्थापनसँगै कर्मचारी खटनपटनका लागि विवरण सङ्कलनको काम अन्तिम चरणमा पुगेको छ । “सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ, अब मतदान केन्द्र र सहायक मतदान अधिकृत तोकेर २७ गतेभित्र सम्बन्धित मतदान केन्द्रमा पठाइसक्छौँ”, उनले भने । जिल्लामा छ राष्ट्रिय र १७ क्रियाशील गरी कूल २३ राजनीतिक दलले निर्वाचनमा भाग लिनेछन् ।

    मतदाता शिक्षा सञ्चालन नहुने

    यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुने भएको छ । निर्वाचन आयोगको निर्णयबमोजिम जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुने भएको हो । तर मतदातालाई कसरी मत हाल्ने भन्नेबारेमा मतदान केन्द्रमा सिकाइने निर्वाचन अधिकारी ढकालले बताए ।

    “मतदानपूर्व नै मतदातालाई मतदान केन्द्रमा कसरी भोट हाल्ने भनेर सिकाउँछौँ”, उनले भन्, “मत बदर हुन नदिन राजनीतिक दलले पनि मतदातालाई सिकाउनुपर्छ ।” निर्वाचनका लागि यहाँ दुई हजार ३७६ जनशक्ति परिचालन हुँदैछन् ।

    निर्वाचनका लागि तनहुँमा १३६ मतदानस्थल र २९७ मतदान केन्द्र निर्धारण भएको छ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक र २९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिनेछन् ।