काठमाडाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकसँग आवासगृहमा पुगेर उनीहरुले भोगेका समस्याबारे जानकारी लिएका छन्
काठमाडौँको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवासगृहमा पुगेर मन्त्री श्रेष्ठले आइतबार श्रमिकसँग विदेशी भूमिमा भोगेका समस्याको कारण र समाधानका उपायबारे छलफल गरेका हुन् । उनले विदेशमा अलपत्र वा समस्यामा परेका नेपालीलाई संरक्षण गरी स्वदेश फर्काउने विषयलाई आफूले उच्च प्राथमिकता दिएको बताए।
नेपाली श्रमिकको न्यायमा पहुँच तथा क्षतिपूर्ति सुनिश्चित गर्न रोजगारदाता, सरकारी निकाय, श्रमिक र म्यानपावर कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने उनकाे भनाइ थियो । मलेसियामा लामो समय गैरकानुनीरुपमा बसेका, तलब भुक्तानी नपाएका, रोजगारीबाट निष्काशन गरिएका र जेलमा रहेका १० श्रमिकको उद्धार गरी नेपाल ल्याइएको थियो ।
मन्त्री श्रेष्ठले विदेशमा नेपाली श्रमिकले भोगेको समस्या समाधानका लागि सम्बन्धित देशको सरकारसँग कुरा गर्ने बताए। उनले उद्धार गरिएका श्रमिकलाई नेपालमै स्वरोजगार बन्न र विदेश जानै परे सीप सिकेर तथा सबै प्रक्रिया बुझेर जान आग्रह गरे। रोजगारदाता कम्पनी, कामदार पठाउने म्यानपावर कम्पनी तथा कामदार आफ्नै कारणले पनि विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् ।