बन्दीपुरमा त्रिपक्षीय भीडन्त, माओवादी ढुक्क : जित्ने रणनीतिमा कांग्रेस र एमाले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा त्रिपक्षीय भीडन्त, माओवादी ढुक्क : जित्ने रणनीतिमा कांग्रेस र एमाले

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    बन्दीपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँको बन्दीपुर गाउँपालिकामा त्रिपक्षीय भिडन्त हुने भएको छ । बन्दीपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेबीच त्रिपक्षीय भिडन्त हुने भएको हो ।

    बन्दीपुरको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पूर्णसिं थापा, नेपाली कांग्रेसबाट धु्रवलाल प्रधान र नेकपा एमालेबाट सुरेन्द्र थापाबीच प्रतिस्पर्धा हुँदैछ । २०७४ सालको निर्वाचनमा बन्दीपुरको अध्यक्ष, उपाध्यक्ष सहित बहुमत वडा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

    गत स्थानीय तह निर्वाचनमा पनि एक्लै चुनाव लड्दा जितेकाले माओवादी यसपटक पनि आफूहरुले जित्नेमा ढुक्क छ । पाँच वर्षको अवधिमा बन्दीपुरको विकासका लागि धेरै कामहरु गरेकाले यसपटक पनि बन्दीपुरमा माओवादीले जित्ने नेताहरुको दावी छ ।

    बन्दीपुरमा नेकपा एमाले र कांग्रेस नेता गोविन्दराज जोशी समूहबीच तालमेल भएको छ । बन्दीपुरमा राम्रो प्रभाव रहेका कारण जोशीको समर्थनमा यसपटक चुनाव जित्ने रणनीति एमालेले बनाएको छ ।

    यता नेपाली कांग्रेस पनि यस पटक जसरी पनि चुनाव जित्ने रणनीतिका साथ अगाडी बढेको छ । यद्यपि डुम्रेका मानकाजी श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका कारण कांग्रेसकै भोट काटिने निश्चित भएको छ । श्रेष्ठले उम्मेदवारी फिर्ता नलिए कांग्रेसका आधिकारिक उम्मेदवारलाई चुनाव जित्न गाह्रो हुने विश्लेषण गरिएको छ ।

    गत निर्वाचनमा माओवादीका उम्मेदवारले दुई हजार ८ सय ६३, एमालेका उम्मेदवारले एक हजार ९ सय ३२ र नेपाली कांग्रेसका उम्मेदवारले दुई हजार चार सय २१ मत प्राप्त गरेका थिए । तर अहिले मतदाता बढेकाले नयाँ मतदातालाई आकर्षण गर्न सक्नेले चुनाव जित्ने आंकलन छ । बन्दीपुर गाउँपालिकामा सात हजार पाँच सय ६४ पुरुष र आठ हजार ७४ महिला गरी १५ हजार छ सय ३८ मतदाता छन् ।