दमाैली । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्माले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आचारसंहिता जारी गरेपनि मन्त्री विश्वकर्माले आचारसंहिता उल्लङ्घन गरेका हुन् ।
नेपाली काङ्ग्रेस व्यास नगर समितिले शुक्रबार आयोजना गरेको घोषणापत्र सार्वजनिक समारोहमा सहभागी भएर मन्त्री विश्वकर्माले आचारसंहिता उल्लङ्घन गरेका हुन् ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद–३ को नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले पालना गर्नुपर्ने आचरणमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने भन्ने उल्लेख छ ।
निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले सार्वजनिक पदमा बसेका कोही व्यक्तिले पनि राजनीतिक दलको कार्यक्रममा सहभागी वा प्रचारप्रसारमा संलग्न हुन नपाउने बताए ।