शुक्लागण्डकी–१० मा त्रिपक्षीय भिडन्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी–१० मा त्रिपक्षीय भिडन्त

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०७९, मंगलवार

    दुलेगौँडा : २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको नतिजालाई फर्केर हेर्दा शुक्लागण्डकी नगरपालिका–१० को मतपरिणाम निकै रोचक छ । वडाध्यक्षमा माओवादी केन्द्रका रामचन्द्र भण्डारीले ६९१ मत ल्याएर विजयी भएका थिए । भण्डारी ५५ मतान्तरका साथ विजयी भएका हुन् । एमालेका धनबहादुर थापाले ६३६ र कांग्रेसका यामबहादुर ठकुरीले ६३७ मत पाएका थिए । यो वडामा कांग्रेसका दुई सहित माओवादी र एमालेका एक÷एक जना वडा सदस्यमा विजयी भएका थिए । शुक्लागण्डकीको १२ वडामध्य १० वटा वडामा एउटै दलका उम्मेद्वार विजयी भएकोमा यो वडामा मिश्रित नतिजा आएको हो ।

    यसपाली यहाँ वडा सदस्यको अनुभव बटुलेका राजेन्द्र भट्टराई क्षेत्री माओवादी केन्द्रबाट र केशव थापाले नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् । त्रिपक्षिय भिडन्तका लागि नेपाली कांग्रेसका खड्गविक्रम खाँण ठकुरी पनि चुनावी मैदानमा उत्रिएका छन् । माओवादी अघिल्लो पटकको जितलाई दोहो¥याउँदै यो वडालाई पकड सावित गर्ने दाउमा छ । एमाले र कांग्रेस यसपालि जसै जित्ने दावाका साथ लागिरहेका छन् । माओवादीलाई एमालेबाट विभाजन भएको एकिकृत समाजवादीको समेत समर्थन छ । मन र मत जित्नका लागि तीनै वटा दलबाट उम्मेद्वारी दिएकाहरु घरदैलोमा पुगिरहेका छन् । उनीहरुले आफ्ना योजना मतदाता समक्ष प्रस्तुत गर्दैछन् ।

    विगतको पाँच बर्षमा वडा सदस्यको रुपमा काम गरेको अनुभवलाई प्रयोग गर्दै अधुरा काम पुरा गर्नलाई आफुले उम्मेद्वारी दिएको माओवादी केन्द्रका वडाध्यक्षका उम्मेद्वार भट्टराई बताउँछन् । अधुरा सडक, खानेपानी, भवन निर्माणलाई पुरा गर्ने, ज्येष्ठ नागरिकलाई घरघरमै भत्ता उपलब्ध गराउने, खानेपानीको मुहान संरक्षण, चौतारी निर्माण, पर्यटकीय सम्भावना रहेको ढोरमुलकोट दरबार र रजस्थल होमस्टेमा पुर्वाधार थपसँगै प्रबद्र्धन, खोरादीकोटमा बाघको मुर्ती स्थापना, नदी कटान रोक्ने योजना लिएर घरदैलोमा पुगीरहेको भट्टराई जानकारी दिए । बाँझो जमिनको सदुपयोग, पुननिर्माण गर्नुपर्ने घरहरुको पुननिर्माण र अनुदान उपलब्ध गराउन आफुले पहल गर्ने उनको भनाई छ । ‘म वडा सदस्य भएर पाँच बर्षको अवधिमा जनताको सुखदुखमा सहभागी भएको छु । विकास निर्माणमा साथ दिएको । तसर्थ पनि मलाई जनताले मतदान गर्नेछन्’, उनको विश्वास छ ।

    भ्रष्टचारमुक्त वडा बनाउने योजना अगाडी सारेर घरदैलो गरिरहेका छन् कांग्रेसबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका ठकुरी । हरेक विद्यालयमा इन्टरनेट सहितको कम्प्युटर शिक्षा, छब्दी मावीमा प्राविधिक शिक्षाको पठपाठन सुरु, ढोर दरबार, रजस्थल होमस्टे र खोरादीकोटको प्रबद्र्धन, खोरादी गाउँलाई स्मार्ट भिलेज बनाउने, बाँदर लाग्ने स्थानमा बाँदरबाट सुरक्षित हुने खेती गर्नलाई प्रोत्साहन गर्ने, कृषि उपजको बजारीकरणका लागि हाटबजार, सडक स्तरोन्नतीसँगै कालोपत्रे, वडामै बैंक स्थापनाको पहल, टोलटोलमा व्यवस्थित खेलकुद मैदान निर्माण, बालमैत्री शिक्षण र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने, बर्षेनी डाक्टर इञ्जिनियर पढ्ने तीन जना विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराउने योजना उनको छ । विगत २० बर्षदेखी आफुले सामाजिक क्षेत्रमा गरेको योगदान नै आफुले जित्ने आधार भएको उनी बताउँछन् । ‘पदमा नभएर पनि जनताको सेवामा लागिरहेको छु । मैले आफुलाई भन्दा समाजलाई माथी राखेर काम गरेको छु । जनताको सुखदुखमा काम गरेको कारणले पनि सबैले मतदान गर्नुहुन्छ भन्ने आश छ’, उनले भने ।

    वडाबासीको समस्या बुझ्दै भोट र आर्शिवाद माग्दै वडाको घरघरमा पुगिरहेका एमालेको तर्फबाट वडाध्यक्षका उम्मेद्वार थापा पनि अधुरा योजनालाई पुरा गर्न चुनावी मैदानमा होमिएको बताउँछन् । ‘स्वास्थ्य, शिक्षा र पुर्वाधारलाई विशेष प्राथमिकता दिएर काम गर्ने अठोट छ । मैले वडा सदस्य हुदाँ गरेका अधुरा कामहरु पुरा गर्नेछु’, उनले भने । जित्ने आधार के छ भन्ने प्रश्नमा वडाध्यक्षका उम्मेद्वार थापा भन्छन् , ‘जनताको घरदैलोमा पुगिरहेको छु । मैले जनतालाई म स्वच्छ छु । मैले भ्रष्टचार निवारण गर्छु र भ्रष्टचार गर्दिन । एकपटक जिताएर हेर्नुस भन्दा जनताबाट राम्रै प्रतिकृया आएको छ ।’ आफुले बोलेर भन्दा काम गरेर देखाउने उनको उद्घोष छ ।