तनहुँमा आचारसंहिता उल्लङ्घनमा मौखिक उजुरी बढ्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा आचारसंहिता उल्लङ्घनमा मौखिक उजुरी बढ्दै

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०७९, मंगलवार

    दमाैली । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढ्न थालेका छन् । राजनीतिक दलहरुले निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन गर्न थालेपछि जिल्ला निर्वाचन कार्यालयमा मौखिक उजुरी दिने क्रम बढेको हो ।

    दैनिकजसो आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी आउने गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । “मौखिक उजुरी आउने क्रम बढेको छ, लिखित रुपमा भने आएको छैन,” ढकालले भने, “उल्लङ्घनका उजुरी आएपछि सम्बन्धित पक्षलाई सचेत गराएका छौ ।”

    निर्वाचनका लागि प्रचारप्रसारका क्रममा चर्को आवाजमा प्रचारसामग्री बजाउने, गाडीभर स्टीकर टाँस्ने, ठूला झण्डा राखेर प्रचारप्रसार गर्ने क्रम बढेको छ । यसका साथै राजनीतिक दलको चुनाव प्रचारप्रसारमा शिक्षक तथा कर्मचारी सहभागी भएर आचारसंहिता उल्लङ्घन भइरहेको छ ।

    आचारसंहितालाई कडाइ गर्नका लागि सुरक्षा निकायसँग छलफलको तयारी गरिएको ढकालले बताए। “निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आचारसंहिताको पालनामा कडाई गर्छौ,” ढकालले भने।

    निर्वाचन कार्यालयले दशवटै निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक निर्वाचन सामग्री पठाउनका लागि प्याकिङ गर्ने कामलाई अन्तिम चरणमा पु¥याएको छ । साथै कर्मचारी छनौट गर्ने काम पनि अन्तिम चरणमा पुगिसकेको छ । कर्मचारी छनौट गरिएपछि तालिम दिएर कर्मचारीलाई मतदानस्थल पठाइने ढकालले बताए।

    वैशाख २१ गतेभित्र कर्मचारी छनौट गरी २३ र २४ गते तालिम दिने तयारी गरिएको छ । २७ गतेभित्र दशवटै पालिकामा कर्मचारी परिचालित भइसक्नेछन् । कर्मचारीसँगै मतपत्र र आवश्यक सामग्री मतदानस्थल पुर्याइनेछ । जिल्ला प्रहरी कार्यालय तनहुँले दशवटै पालिकामा म्यादी प्रहरी पनि परिचालित गरिसकेको छ ।