दमौली । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिका लगायत कर्मचारी पुगिसकेको र आवश्यक सबै तयारी सकिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउँदै मतदान कार्यमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरे । निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नागरिकलाई भयरहित वातावरणमा निर्वाचन सहभागी हुने स्थिति बनाउनका लागि प्रशासनले सुरक्षा व्यवस्था चुस्त बनाएको हो ।
निर्वाचनलाई लक्षित गरी तनहँुमा दुई हजार सात सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । “निर्धक्कसाथ निर्वाचनमा मतदान गर्ने वातावरण मिलाउन सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ,” प्रजिअ अर्यालले भने, “निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा योजना बनाइएको छ, सुरक्षामा कुनै कसुर बाँकी राखिनेछैन ।”
निर्वाचनका लागि तीन सय ६२ नेपाली सेना, एक हजार एक सय ८८ म्यादी प्रहरी, आठ सय २० नेपाल प्रहरी र तीन सय २६ सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षा समितिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन प्रकारमा मतदान केन्द्रलाई विभाजन गरेको छ । अति संवेदनशील र संवेदनशील मतदान केन्द्रमा अन्य ठाउँ भन्दा बढी सुरक्षा कडाई गरिनेछ ।
बन्दीपुरको गाविस भवन धरमपानी, देवघाटको सिद्ध प्रावि, कोट बैदी देवघाटको गाविस भवन, रिसिङको बाल विकास मावि र शङ्कर प्रावि रुपाकोटलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको छ । भानुको राष्ट्रिय माध्यमिक विद्यालय, शुक्लागण्डकीको जनकल्याण प्रथामिक विद्यालय, भिमादको शङ्कर माध्यमिक विद्यालय डुम्रेवेशी, बन्दीपुरको त्रिभुवन प्राथमिक विद्यालय लगायत ३८ वटा मतदान स्थललाई संवेदनशीलमा वर्गीकरण गरिएको छ ।
अति संवेदनशिल मतदान स्थलमा केही घटना भए सूचना पाएको १५ मिनेटभित्र तुरुन्तै नेपाली सेना, सशस्त्र प्रहरी पुग्ने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
सुरक्षा समितिले जिल्लाका शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका लगायतका मतदानस्थलको अनुगमन गरिसकेको छ ।
जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी, प्रहरी र म्यादी प्रहरी परिचालित भइसकेका छन् । मतदान केन्द्रमा पुगेका मतदान अधिकृतले सर्वदलीय बैठक, मतदाता परिचयपत्र वितरण गरिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार तीन सय ७६ जनशक्ति परिचालन गरिएको छ । निर्वाचनका लागि दुई सय ९७ मतदान अधिकृत, दुई सय ९७ सहायक मतदान अधिकृत, पाँच सय ९४ सहायक, दुई सय ९७ सहयोगी परिचालन गरिएको छ । त्यसका साथै मतदान केन्द्रमा आठ सय ९१ कर्मचारी नियुक्त गरिएको छ ।
तनहुँका दुई लाख ४४ हजार तीन सय ४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार आठ सय ६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता रहेका थिए ।