दमाैली । नेकपा एमाले र गोविन्दराज जोशी समूहले व्यास नगरपालिका–८ रिस्तीमा पुनः मतदान गर्न माग गरेका छन् । नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल र गोविन्दराज जोशी समूहका तर्फबाट हरिशरण पण्डितले आज प्रेस विज्ञप्ती सार्वजनिक गरी गाविस भवन फेदीमा भएको मतदान स्थल (क) र (ख) केन्द्रमा भएको मतदान प्रक्रिया स्थगन गरी पुनः भयरहित वातावरणमा मतदान गर्न माग गरेका हुन् ।
मतदान चलिरहेका बेला मतदानस्थल पुगेका एमाले र जोशी समूहका तर्फबाट प्रमुखका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएको थियो । आक्रमणबाट घाइते जोशीलाई उपचारका लागि पोखरा पठाइएको छ ।
मतदानका क्रममा भएका प्रक्रियाहरु छानबिन गरी पुनः मतदान हुने स्थिति नहुँदासम्म अन्य मतदान केन्द्रका मतपेटिकाका मतहरु समेत गणना नगर्न अनुरोध गर्दै मतगणनामा सहभागी नहुने विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा गाविस भवन फेदीमा भएको मतदान स्थल (क) र (ख) मा बिहानैदेखि प्रमुखका उम्मेदवार वैकुण्ठ न्यौपाने पक्षधर व्यक्तिहरुले मतदान केन्द्र नियन्त्रणमा लिई एकलौटी मतदान गरी मतदान केन्द्र कब्जा गरेको आरोप लगाइएको छ । शान्ति सुरक्षाको स्थिति बिगारेको, वडाध्यक्ष, सदस्यका उम्मेदवारहरु, दीपकराज जोशी र नेकपा एमालेका एजेन्टहरुलाई कुटपिट गदै मतदानस्थलमा बस्न नदिई लखेटिएको र शान्ति सुरक्षाको स्थिति सुधार गर्न दीपकराज जोशी र नेकपा एमालेका नेताले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई पटक पटक जानकारी गराउँदा समेत वेवास्ता गरी एकलौटी रुपमा भोट हाल्न मौन समर्थन दिँदा उक्त परिस्थिति उत्पन्न भएको विज्ञप्तीमा उल्लेख छ ।