खैरेनीटार : दुवै मृगौला फेल भएर उपचाररत जिल्लाको म्याग्दे गाउँपालिका–५ मुलाबारीकी नरमाया थापालाई आर्थिक सहयोग गरिएको छ । ४४ बर्षीय थापालाई तनहुँ समाज हङकङ र स्थानीयले उपचारका लागि आर्थिक सहयोग गरेका हुन् । थापालाई तनहुँ समाज हङकङ र स्थानीयले चार लाख ५६ हजार ८६७ रुपैयाँ सहयोग गरेका हुन् ।
मुलावारीका विपिन थापामार्फत हङकङमा संकलित दुई लाख नौ हजार ४३० रुपैयाँ तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरुङले मृगौला पिडित थापालाई बुधबार खैरेनीटारमा हस्तानतरण गरे । हङकङमा रहेका ४१ जनाले आर्थिक सहयोग गरेका हुन् । तनहुँ समाज हङकङले जिल्लामा सदैव सहयोग गर्दै आईरहेको गुरुङले बताए । हङकङमा रहेर स्वच्छिक तरिकाले आर्थिक संकलन गर्दै जिल्लामा सहयोग गरिएको उनले बताए ।
तनहुँ समाज हङकङका कार्यक्रम संयोजक एवम नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदिप काफ्लेले शिक्षा, स्वास्थ्य, खानेपानी र विपद्मा परेका जिल्लावासीलाई समाजले सहयोग गर्दै आईरहेको बताए ।
यस्तै मुलावारीका गंगाबहादुर थापाको नेतृत्वमा संकलित दुई लाख ४७ हजार ५३७ रुपैयाँ पनि हस्तानतरण गरिएको छ । उक्त रकम गाउँले, आफन्त र चेलीबेटीबाट संकलन गरिएको थापाले बताए । ८२ जनाले उपचारमा सघाउन सहयोग गरेका छन् । थापाका अनुसार भुरुङ्गे मगर समाज खैरेनीटारले ८० हजार ६२० रुपैयाँ सहयोग गरेको छ ।
गाउँले विरामी परेको बेला सबैले सहयोग गर्नुपर्छ भनेर आर्थिक संकलन अभियान चलाएको थापाले बताए । ‘गाउँलेलाई अफ्ठ्यारो परेको बेला सहयोग गर्नुपर्र्छ भनेर आर्थिक संकलनमा लाग्यौँ । गाउँले र चेलिबेटीबाट उठाएको रकम हस्तानतरण गरेका छौँ । अझैँ पनि अभियान जारी रहन्छ’, उनले भने । मृगौला पिडित थापाको आर्थिक अवस्था कमजोर रहेकाले कसैको जिन्दगी बचाउनुपर्छ भनेर लागेको उनको भनाई छ । उनका अनुसार यसअगाडी पनि नरमायाको उपचारमा तीन लाख ५३ हजार ४२५ रुपैयाँ सहयोग गरिएको छ ।
गत बर्षदेखी दुवै मृगौला फेल भएको पुष्टी भएपछि थापाको आगामी हप्ता काठमाडौँस्थित ग्राण्डी हस्पिटलमा मृगौला ट्रान्सप्लान्ट हुदैछ । २५ देखी ३० लाख रुपैयाँ खर्च हुने हस्पिटलले जनाएको छ ।