पृथ्वीराजमार्गको आँबुखैरेनी खण्ड बेलुका ७ बजेबाट बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पृथ्वीराजमार्गको आँबुखैरेनी खण्ड बेलुका ७ बजेबाट बन्द

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०७९, शुक्रबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ । आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो ।

    आज बिहान सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ । डेढ÷दुई मिटर भित्ता खनेर सडक सुचारु गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले जानकारी दिइन् । “रातिको समयमा सवारी सञ्चालनमा जोखिम हुने भएकाले सडक बन्द गरेर भित्ता खन्ने कार्यलाई निरन्तरता दिन्छौ,” उनले भनिन् ।

    सडक भासिएपछि बिहानैदेखि अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गराइएको छ । साना सवारी साधनपनि समय–समयमा सञ्चालनको व्यवस्था मिलाइएको छ ।

    यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले उक्त खण्डको आजै निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री विकले छिटो काम सकेर यातायात सञ्चालनमा सहजता ल्याउन निर्देशन दिएका छन् ।

    मन्त्री विकले तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी रातिको समयमा सडक बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

    सडक भासिएर उक्त ठाउँबाट कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनाको सनाखत भएको छ भने अर्का व्यक्तिको सनाखत नभएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।

    गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३५ वर्षीय केशव घिमिरेको सनाखत भएको उनले बताए । अर्का व्यक्तिको सनाखत गर्न प्रयास भइरहेको प्रहरीले जनाएको छ ।