दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएर दुर्घटनामा परेका दुई जनाको सनाखत भएको छ । अविरल वर्षासँगै शुक्रबार बिहान सडक भासिदा दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएको हो ।
सनाखत हुनेमा हेटौडाका ३५ वर्षीय हेमबहादुर भुजेल र गोरखा घर भई आँबुखैरेनी गाउँपालिका–२ बस्ने ३५ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। घिमिरेको बिहानै सनाखत भएको थियो भने भुजेलको साँझमात्रै सनाखत भएको हो । भुजेलका आफन्तजन आएपछि उनको पहिचान खुलेको खड्काले बताए ।
सडक भासिदा त्यहाँबाट एउटा कार र दुई वटा मोटरसाइकल खसेको थियो । त्यसमध्ये बा १० च ४७७९ नम्बरको कार चालक भुजेल र ग १५ प २९५३ नम्बरको मोटरसाइकल चालक घिमिरे रहेका थिए । सडकबाट बा ३३ प १०९१ नम्बरको मोटरसाइकल समेत खसेको छ । तर मोटरसाइकल चालक भने शकुसल रहेको प्रहरीले जनाएको छ ।
कारमा भुजेल मात्र रहेको प्रहरीको अनुमान छ । भुजेल गोरखामा मान्छे पु¥याएर बिहानै हेटौडा फर्किदै थिए । “मान्छे पु¥याएर एक्लै कारमा हेटौडा फर्किदै गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” प्रनाउ खड्काले भने ।
घिमिरे भने मुग्लिनमा जाममा परेकी श्रीमती लिन जाँदै गर्दा दुर्घटनामा परेका हुन् । चितवनबाट फर्किएकी घिमिरेकी श्रीमती मुग्लिन नारायणगढ सडकखण्डको जाममा परेकी थिइन् । श्रीमतीले फोन गरेर मुग्लिनसम्म लिन बोलाएपछि घिमिरे त्यसतर्फ जाँदै थिए । तर श्रीमतीलाई भेट्न नपाउँदै घिमिरेले दुर्घटनामा ज्यान गुमाएका छन् ।