दमाैली । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि व्यास नगरपालिकाले जितेको छ ।
शनिबार सुरु भई आइतबार सम्पन्न भएको जिल्लास्तरीय रनिङशिल्ड प्रतियोगिताको उपाधि व्यास नगरपालिकाले जितेको हो । व्यास नगरपालिकाले २२ स्वर्ण, १७ रजत र १० कास्य पदक जितेको छ ।
प्रतियोगितामा म्याग्दे गाउँपालिका द्वितीय भएको छ । म्याग्देले पाँच स्वर्ण, छ रजत र ११ कास्य पदक जितेको छ । तेस्रो भएको घिरिङ गाउँपालिकाले एक स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।
प्रतियोगितामा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकाबाट खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा कराँते, एथलेटिक्स, भलिबल, कबड्डी लगायतका खेल सञ्चालन गरिएको थियो । तनहुँबाट छनौट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् । प्रदेश खेलकुद परिषद्ले असार २३ र २४ गते पोखरामा प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना गरेको छ ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।