दमाैली । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक धामको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
दुई सय नवौ भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले बुधबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री श्रेष्ठले यस ठाउँलाई साहित्यिक धामको रुपमा विकास गर्नुपर्ने बताए ।
पूर्वमन्त्री श्रेष्ठले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताउँदै चुँदीरम्घालाई साहित्यिक धाम बनाएर पर्यटक आकर्षित गर्नुपर्ने उल्लेख गरे । भानु जन्मस्थल विकास समितिलाई कहिले स्थानीय सरकार मातहत राख्ने र कहिले नेतृत्वविहिन हुँदा काममा ढिलाई भएको बताउँदै पूर्वमन्त्री श्रेष्ठले भने, “समितिलाई अहिले पुनः सङ्घीय सरकार मातहत ल्याउन सकिएको छ, अब यसको विकासका लागि ढिलाई नगरौं । सबै एकजुट भएर लागौ ।”
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका पूर्वमन्त्री श्रेष्ठले भानुको नाममा संस्था खोलेर मात्र नहुने भन्दै अब काम गर्नुपर्ने बेला आएको बताए। “भानुका नाममा संस्था खोलेर मात्र हुँदैन, काम चाहिएको छ, संस्था खोलेर मात्र भानु जन्मस्थलको विकास हुँदैन,” उनले भने ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानु जन्मस्थलको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठ लगायतले बाेलेका थिए ।
भानु जयन्तीका अवसरमा आयोजित राष्ट्रिय स्तरको कविता प्रतियोगिताका विजेतालाई सोही अवसरमा पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा रामेछापका विक्रमपवन परियार प्रथम भएका थिए । त्यस्तै पर्वतका तारानाथ पराजुली द्वितीय, पर्वतकै लक्ष्मीदेव गौडेल तृतीय, अछामका मिनप्रसाद पाण्डे र मोरङका केशव भण्डारी सान्त्वना भएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु दश हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजार प्रदान गरिएको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए ।