दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीकाे आवश्यकताका आधारमा आगामी निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् । गृहजिल्ला तनहुँकाे दमाैलीमा बिहीबार आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै पाैडेलले आफ्नाे मात्र इच्छा भन्दा पनि पार्टीकाे आवश्यकता महत्वपूर्ण रहेकाे बताए ।
पार्टीले आफ्नो आवश्यकता कसरी महशुस गर्छ त्यसपछि मात्रै आफूले धारणा सार्वजनिक गर्ने उनले बताए। “मेरो इच्छामा मात्र भर पर्ने कुरा होइन, पार्टीले मेरो आवश्यकता महशुसलाई कसरी लिन्छ त्यसपछि मात्रै कुरा हुन्छ,” उनले भने, “१४ औं महाधिवेशनमा सभापति जीले देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्यको ख्याल गर्नुहोस् भन्नुभएको थियो ।”
उनले निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताए । पौडेलले पार्टीभित्र कसैलाई पनि अन्याय हुन नहुने धारणा राखे । पार्टीभित्र भिन्न मत राख्नेको पनि कदर हुनुपर्ने भन्दै वरिष्ठ नेता पौडेलले भने, “भिन्न मत राखेकै कारण पार्टीभित्र कसैको पनि धतुरो झार्न पाइँदैन । मैले सभापति जीलाई पनि भनेको छु, सहिष्णुताको विकास गर्नुहोस्, जीवनमा सबै कुरा पाइसक्नुभयो, अब देशका लागि केही योगदान दिनुस् ।” वरिष्ठ नेता पौडेलले काङग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैको मतको कदर गर्नुपर्ने बताए ।
वरिष्ठ नेता पौडेलले विगतका सरकारले गरेका गल्ती दोहो¥याउने छुट वर्तमान सरकारलाई नभएको बताए। संविधानको मर्ममा प्रहार गर्ने काम सच्याउनुपर्ने भन्दै पौडेलले भने, “केपी ओली नेतृत्वको सरकारले गरेको गल्ती नदोहो¥याउनुस् ।”
वरिष्ठ नेता पौडेलले अहिलेको गठबन्धन स्थिरताका लागि भएको प्रष्ट पारे। मुलुकलाई स्थिरता कायम गरी विकासको बाटोमा अगाडी बढाउने आफूहरुको मूल लक्ष्य रहेको पौडेलको भनाई थियो । “अहिले काङ्ग्रेस र कम्युनिष्टको सवाल होइन, मुलुकको स्थिरताको सवाल हो,” पौडेलले भने। अहिलेको गठबन्धनको परिकल्पनाकार आफू भएको पौडेलको भनाई थियो ।
वरिष्ठ नेता पौडेलले संविधान मानेकाले काङ्ग्रेस र माओवादी अहिले एउटै धु्रवमा उभिएको चर्चा गरे । मुलुकमा स्थायीत्व र सुशासनको जग बसालेर राजनीति छाड्न मन रहेको वरिष्ठ नेता पौडेलले बताए।
राष्ट्र बैङ्कका गर्भनर पार्टीको कमिटीमा बस्नु संवैधानिक र कानून विपरित रहेको उनकाे भनाई थियो । गर्भनर पार्टीको मुखपत्र बन्ने सुहाउने विषय नभएको उनले बताए ।
विगत पाँच वर्षमा देखिने विकासको काम नभएको चर्चा गर्दै वरिष्ठ नेता पौडेलले अब जिल्लाको विकासले काँचुली फेर्ने बताए।