दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन खानेपानी आयोजनामा बजेट अभाव नहुने बताएका छन्। तनहुँको व्यास नगरपालिका–१३ स्थित छाब्दी पम्पिङ खानेपानी आयोजनाको ट्याङ्की निर्माण कार्यको बिहीबार निरीक्षण गर्दै वरिष्ठ नेता पौडेलले आयोजनामा बजेट अभाव हुन नदिने उल्लेख गरे।
निर्धारित समयमै आयोजना निर्माण सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गर्दै पौडेलले आवश्यक परेको खण्डमा सङ्घीय र प्रदेश सरकारबाट बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गरे ।
काङ्ग्रेसको नेतृत्वमा विकास निर्माणको कामले तीव्रता पाएको बताउँदै पौडेलले आगामी दिनमा यस क्षेत्रको विकासमा आफ्नो सदैव सहयोग रहने बताए ।
निरीक्षणका क्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका–१३ का वडाध्यक्ष बसन्तबहादुर आलेको सहभागिता थियो ।
गण्डकी प्रदेश सरकारको रु पाँच करोड लागतमा ट्याङ्की निर्माण भइरहेको छ । क्रमागत योजना अन्तर्गत हालसम्म रु तीन करोड बजेट प्राप्त भएको छ । ७० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष भरत थापाले जानकारी दिए।
ट्याङ्की निर्माण पश्चात् पोखरीभञ्ज्याङका सात सय घरधुरीमा पानी वितरण गर्ने तयारी छ । त्यसका लागि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।