दमौली । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तरगतका सबै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको म्याद नथप्न निर्देशन दिएको छ ।
मन्त्रालयले करार जनशक्तिको म्याद २०७९ असार ३२ गतेपछि नथप्ने भनी असार २३ गते मन्त्रीस्तरीय निर्णय भएको भन्दै सबै अस्पताललाई परिपत्र गरेको छ। करार सेवामा चिकित्सक वा स्वास्थ्यकर्मी छनौट सम्बन्धी कार्यविधि (संशोधन सहित) २०७६ बमोजिम नियुक्त भएका करार जनशक्तिको म्याद नथप्नु भनिएको छ ।
मन्त्रालयको यो निर्णयले तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा कार्यरत कर्मचारीको पनि म्याद नथपिने भएको छ । मन्त्रालयको यो निर्णयले दमौली अस्पतालको सेवा प्रवाह अस्तव्यस्त हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताए।
‘करारका कर्मचारीको म्याद नथपिए अस्पताल सञ्चालन गर्न गाह्रो छ, सेवा भद्रगोल हुन्छ । इमरजेन्सी धान्ने अवस्था हुँदैन,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयका जिम्मेवार व्यक्ति भने जसरी चल्छ चलोस् भन्छन् ।’
अस्पतालमा एमडी ५ र मेडिकल अधिकृत पॉच चिकित्सक स्थायी दरबन्दीमा कार्यरत छन् । १५ शय्या स्वीकृत अस्पतालले ५० शय्याको सेवा दिइरहेको छ।
अस्पतालमा हाल दैनिक २५० भन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन्। गर्मी मौसमका कारण भर्ना हुने बिरामीको संख्या २०/२५ छन् । पोखरापछि धेरै बिरामी अस्पताल आउनेमध्येको दमौली अस्पताल रहेको र सेवाग्राहीको चाप बढ्ने तर कर्मचारीको म्याद नथपिदा सेवा भद्रगोलको अवस्था हुने थापाले बताए ।
मन्त्रालयले कोभिड करार जनशक्तिको पनि म्याद नथप्न भनेको छ । अस्पतालमा कोभिड तर्फका २३ जनशक्ति कार्यरत छन् ।
अस्पतालमा सेवा विस्तार भइरहेको सन्दर्भमा कर्मचारी नभएपछि कसरी सेवा दिने भन्ने चिन्ता थपिएको थापा बताउँछन् । अस्पतालले केही दिन अगाडी मात्रै विशेषज्ञद्वारा भिडियो एक्सरे सेवा सुरु गरिएको छ । बाहिर एक हजार शुल्क लिने गरिएपनि अस्पतालले ६५० मा उक्त सेवा दिएको छ । ‘अस्पतालको सेवा विस्तारका लागि दिनरात लागिपरेको छु,’ उनले भने ।