दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ मा करारका कर्मचारीलाई अतिरिक्त सुविधा दिएकोप्रति महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।
नगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीलाई शुरु तलब स्केलका अतिरिक्त महंगी भत्ता समेत दिएको छ । साथै मासिक दुई हजारका दरले वार्षिक सात लाख ६८ हजार खाजा बापत समेत भुक्तानी गरेको देखिएको छ ।
उक्त रकम नगरपालिकाको निर्णय अनुसार भुक्तानी भएपनि कानूनी आधार बेगर पटके निर्णयका आधारमा भत्ता दिनु नियमसंगत नभएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
सामान्य प्रशासनको मन्त्रालयको २०७४ वैशाख २५ को पत्राअनुसार सेवा करारमा कार्यरत स्वीकृत दरवन्दी भित्रका कर्मचारीलाई शुरु तलब, पोषाक तथा चाडपर्वको रकम मात्र दिन मिल्ने उल्लेख गरेको छ ।
यसैगरी नगरपालिकाले सम्पूर्ण कर्मचारीलाई खाजा भत्ता बापत मासिक दुई हजारका दरले वार्षिक २३ लाख १९ हजार एक सय दश भुक्तानी गरेको छ । प्रोत्साहन बापत खाजा भत्ता खर्च गरेका कारण आर्थिक व्ययभार बढेको उल्लेख गरिएको छ ।