दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित चन्द्रावती होटल एण्ड लजबाट प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडा बस्ने सागर क्षेत्री, लमजुङकै मस्र्याङ्दी गाउँपलिका–९ खुदी बस्नेत दिपेन्द्र भण्डारी र बेशीशहर नगरपालिका–२ बस्ने विनोद शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भानुबाट प्रहरी निरीक्षक रमेश विष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले होटलमा बसिरहेका तीन जनालाई लागुऔषध सहित पक्राउ गरेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।
पक्राउ परेकाहरुका साथबाट ७० एम्पुल नुफिन, ७० एम्पुल डाइजेपाम र ७० एम्पुल फेनरागन गरी दुई सय दश एम्पुल लागुऔषध बरामद भएको छ । पक्राउ परेकाविरुद्ध थप अनुसन्धान भइरहेको जनाएको छ ।