ऑबुखैरेनीका कोभिड प्रभावित विपन्नलाई राहत वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीका कोभिड प्रभावित विपन्नलाई राहत वितरण

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७९, शुक्रबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोभिड–१९ बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु गरेको छ । सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले छवटै वडाका कोभिड प्रभावित परिवारलाई राहत वितरण सुरु गरेको हो ।

    आर्थिक वर्ष ०७८÷७९ मा सङ्घ सरकारबाट प्राप्त भएको रु २७ लाख राहत रकम वितरण गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार गाउँपालिकाभित्रका दुई सय ७० जनालाई रु दश हजारका दरले राहत वितरण गरिनेछ ।

    कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका, समस्यामा परेका व्यक्ति छनोट गरी रकम वितरण गर्न थालिएको उपाध्यायले बताए । “अघिल्लो आवमा नै रकम प्राप्त भएको थियो, उक्त अवधिमा ढिलाइ भएपछि अहिले वितरण गर्न थालेका हौँ”, उपाध्यायले भने ।

    उपाध्यायका अनुसार वडा नम्बर ३ र ४ का २० जनालाई बिहीबार रु दश हजारका दरले रकम वितरण गरिएको छ । बुधबार वडा नम्बर ५ का ५० जनालाई वितरण गरिसकिएको छ ।

    वडा नम्बर १ मा ८७, वडा नम्बर २ मा ५९, वडा नम्बर ३ मा ६१, वडा नम्बर ४ मा ९, वडा नम्बर ५ मा ५२ र वडा नम्बर ६ मा एक जनालाई राहत वितरण गरिनेछ । राहत वितरणका लागि वडा कार्यालयबाट निवेदन माग गरिएको थियो । वडा कार्यालयमा प्राप्त भएका निवेदन वडा समितिले छनोट गरी गाउँपालिकामा सिफारिस गरेको थियो । गाउँ कार्यपालिकाले उक्त सिफारिस निर्णय गरी गाउँसभाबाट पास गरेको थियो ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।