दमाैली । २०७४ सालकाे प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट चुनाव हारेका थिए । उनी एमाले नेता कृष्ण कुमार (किसान) श्रेष्ठसँग चुनाव हारेका थिए ।
बाम गठबन्धनबाट श्रेष्ठले ३४ हजार ४९२ मत ल्याउँदा कांग्रेस नेता पौडेलले २७ हजार ६९० मत ल्याएका थिए ।
तर, अहिले परिस्थिति फेरिएको छ । बाम गठबन्धन अहिले छैन । रामचन्द्र पौडेल चुनाव लडे सत्ता गठबन्धनको सहयोगमा चुनाव लड्ने निश्चित छ ।
तर उक्त निर्वाचन क्षेत्रबाट विजय भएका श्रेष्ठ नेकपा एसमा सक्रिय छन् । मन्त्री पनि भइसकेका सिट बाँडफाँडमा उनले उक्त निर्वाचन क्षेत्र नछाडे समस्या पर्ने देखिन्छ । तर उनले निर्वाचन क्षेत्र कांग्रेसका लागि छाडिदिए भने पौडेललाई सहज देखिन्छ ।
गएको स्थानीय तह निर्वाचनअनुसार पौडेलको निर्वाचन क्षेत्र तनहुँ १ मा कांग्रेस पहिलो शक्ति हो ।
त्यसपश्चात् एमाले र तेस्रो शक्ति माओवादी हो । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिका वडा नम्बर ५ र ६ बाहेक भानु नगरपालिका, देबघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार वडागत मतलाई जोड्दा व्यास नगरपालिकामा कांग्रेसले १४२३२ मत पाएकाे छ । जबकी एमालेले ८२६० मत ल्याएको छ । व्यासमा वडा नम्बर १ र २ मा एमालेकाे समर्थनमा जाेशी गाेविन्दराज समूहका उम्मेदवार थिए ।
यस्तै भानु नगरपालिकामा कांग्रेसले ११ हजार २४२ मत प्राप्त गर्दा एमालेले ७ हजार ७०६ मत ल्याएको छ । आँबुखैरेनी गाउँपालिकामा माओवादीले ३ हजार २५ मत प्राप्त गर्दा कांग्रेसले २ हजार ८४८ र एमालेले १ हजार ६४६ मत ल्याएको छ ।
देवघाट गाउँपालिकामा कांग्रेसले ४ हजार १६९ प्राप्त गर्दा एमालेले ३ हजार ३२० मत पाएको छ ।
बन्दीपुरमा भने एमाले पहिलो दल हो । यहाँ एमालेले ३ हजार ४१५ मत, माओवादीले २ हजार ९६८ तथा कांग्रेसले २ हजार ८६९ मत स्थानीय तह निर्वाचनमा वडातहबाट मत पाएको छ ।
पौडेलको निर्वाचन क्षेत्रमा कांग्रेसले वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा तहबाट ३२ हजार ३८० मत प्राप्त गरेको छ ।
यस्तै एमालेले २२ हजार २१० तथा माओवादीले ८ हजार ४४४ मत पाएको छ । राप्रपासहित अन्य दलले २ हजार १२२, नेकपा(एस)ले ८९२ मत पाएको छ । जसपाले ५४ र स्वतन्त्रले ३ हजार ९९२ मत पाएको छ । पौडेलले टिकट पाए गठबन्धनको सहयोगमा ४१ हजार ७७० मत ल्याउने देखिन्छ ।
तर यो निर्वाचन क्षेत्रमा विगतमा चुनाव जितेका गोविन्दराज जोशीलाई कांग्रेसले कारबाही गरेर पार्टीबाट निकालेको छ । विगतमा चुनाव हार्दा वाम गठबन्धन नभएर जोशीलाई नै कारण देखाएका थिए ।
अहिले उनी कांग्रेसमा नहुँदा विगतमा जस्तो प्रभाव राख्न सक्छन् या सक्दैन त्यो उनको परीक्षा हो । तर जोशीले चुनाव लड्ने घोषणा गरिसकेका छन् । जोशीले प्रभाव कायम राखे भने रामचन्द्र पौडेलका लागि चुनौती भने देखिन्छ । (बाह्रखरी डटकम)