गठबन्धन दलका नेताहरुले मलाई अन्याय गर्नुहुन्न, तनहुँ-१ मा गठबन्धनकाे उम्मेदवार बन्छु : पूर्वमन्त्री श्रेष्ठ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गठबन्धन दलका नेताहरुले मलाई अन्याय गर्नुहुन्न, तनहुँ-१ मा गठबन्धनकाे उम्मेदवार बन्छु : पूर्वमन्त्री श्रेष्ठ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७९, सोमबार

    दमाैली । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले २०७४ काे निर्वाचनमा आफूले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचन जितेकाले मङ्सिर ४ गतेको निर्वाचनमा गठबन्धनबाटै आफूले टिकट पाउनेमा विश्वस्त रहेको बताएका छन् ।

    अधिकृत विक्रेता सङ्घ तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकमा साेमबार आयोजित सातौ साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री श्रेष्ठले आफूले तनहुँ-१ बाटै टिकट पाउनेमा विश्वस्त रहेकाे बताए ।

    नेपाली काङ्ग्रेसका सभापति, वरिष्ठ नेता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष लगायतले आफूलाई अन्याय नगर्ने बताउँदै पूर्वमन्त्री श्रेष्ठले भने, “तनहुँ क्षेत्र नम्बर १ को टिकट गठबन्धनको तर्फबाट पाउँछु भन्नेमा विश्वस्त छु, गठबन्धनका तर्फबाट म उम्मेदवार भएर आउँदैछु मलाई सहयोग गर्नुहोला ।”

    तनहुँमा नेपाली काङ्ग्रेसका थुप्रै नेताहरु रहेको र उहाँहरुलाई सम्मान रहेको भन्दै पूर्वमन्त्री श्रेष्ठले भने, “नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर पनि भनिसकेको छु, तपाई जत्तिको व्यक्ति अरु क्षेत्र, अरु जिल्ला गएपनि हुन्छ । यो क्षेत्र मलाई छाडिदिनुस् भनेर ।”

    स्थानीय तह निर्वाचनमा आफूले पनि काङ्ग्रेसको चुनाव चिन्हमा भोट हालेर व्यास नगरपालिकामा प्रमुख जिताएको भन्दै पूर्वमन्त्री श्रेष्ठले सबैको अस्तित्व स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो ।

    तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वमन्त्री श्रेष्ठले लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरुले एमालेबाट विद्रोह गरेको बताउँदै लोकतन्त्र, संविधान, सङ्घीयताको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताए ।

    “पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा हामीले विद्रोह नगरेको भए संविधान रहन्थेन, लोकतन्त्र रहन्थेन, सङ्घीयता रहन्थेन, सबै धरापमा परिसकेको थयो” उनले भने, “धेरै त्याग तपस्या गरेर गठबन्धन बनायौ, यसलाई निरन्तर अगाडी लैजानुछ ।”

    उनले पाँच दलीय गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्ने बताए । स्थानीय तहमा राम्रोसँग गठबन्धन हुन नसक्दा प्रतिगमनकारीले टाउको उठाउने अवस्था पाएको भन्दै पूर्वमन्त्री श्रेष्ठले मङ्सिर ४ गते हुने निर्वाचनबाट प्रतिगमनकारीलाई निमिट्यान्न पार्न आवश्यक रहेको बताए।

    कार्यक्रममा अधिकृत विक्रेता सङ्घका केन्द्रीय अध्यक्ष हरिराज पन्तले व्यवसायमा अस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुनुपर्ने बताए ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले निजी क्षेत्रले लगानी गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने बताए। तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण परिस्कृत हुनुपर्ने धारणा राखे ।