दमाैली । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) गण्डकी प्रदेशको सोमबार सम्पन्न भेलाले सङ्घको विशेष साधारणसभाका लागि ६ जिल्लालाई मताधिकार दिने निर्णय गरेको छ ।
सङ्घका प्रदेश अध्यक्ष लोकेन्द्र गुरुङको अध्यक्षता र सङ्घका केन्द्रीय पर्यवेक्षक मोहनकुमार श्रेष्ठको उपस्थितिमा तनहुँको व्यास नगरपालिका–१० दुुम्सी होमस्टेमा साेमबार सम्पन्न भेलाले विशेष साधारणसभाका लागि गण्डकी प्रदेशका ११ जिल्लामध्ये ६ जिल्लालाई मताधिकार प्राप्त जिल्लाको रुपमा सर्वसम्मत निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।
सङ्घको विशेष साधारणसभा असोज १२ गते हुँदैछ । विशेष साधारणसभामा प्रदेशका बागलुङ, तनहुँ, स्याङ्जा, नवलपुर, लमजुङ र मनाङलाई मताधिकार प्रदान गरिएको केन्द्रीय पर्यवेक्षक मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
पर्यटन प्रबद्र्धनका लागि गण्डकी प्रदेशस्तरीय भेला दुम्सी होमस्टेमा राखिएको श्रेष्ठले जानकारी दिए ।
केही महिना अघि सम्पन्न एन्फाको अधिवेशनबाट पदपूर्ति हुन बाँकी रहेका केन्द्रीय समितिका केही पदमा पुनः निर्वाचन हुँदैछ । एन्फामा पंकज नेम्बाङको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भइसकेको छ ।
भेलामा एन्फा बागलुङका अध्यक्ष जय राजभण्डारी, तनहुँका अध्यक्ष सत्यभक्त पालिखे, लमजुङका अध्यक्ष विनोद गुरुङ, कोषाध्यक्ष इन्द्रसुब्बा राना, मनाङका अध्यक्ष यज्ञ घले, स्याङ्जाका अध्यक्ष मुन राना लगायतको सहभागिता थियो ।