दमौली । तनहुँ समाज हङकङले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कारबाट पत्रकार कृष्ण न्यौपाने र प्रताप राना मगर पुरस्कृत भएका छन् । समाजले बुधबार स्थापना दिवसको अवसरमा दमौलीमा आयोजना गरेको कार्यक्रममा न्यौपाने र रानालाई उक्त पुरस्कार प्रदान गरिएको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जङ्गबहादुर थापा, पूर्व अध्यक्ष भीमराज गुरुङले उक्त पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशी नगद रु पाँच हजार र सम्मानपत्र रहेको छ ।
कार्यक्रममा नगरप्रमुख न्यौपानेले कोभिड व्यवस्थापनदेखि जिल्लाको समग्र स्वास्थ्य, शिक्षा क्षेत्रमा समाजले पु¥याएको सहयोग अतुलनीय रहेको बताए ।
समाजका निवर्तमान अध्यक्ष थापा र पूर्व अध्यक्ष गुरुङले समाजले गर्दै आएको काममा पत्रकारको तर्फबाट प्राप्त सहयोग सकारात्मक रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्ले, जिल्ला अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारी, निवर्तमान अध्यक्ष ओमकार आचार्य, प्रेस चौतारीका अध्यक्ष राजकुमार श्रेष्ठ विवि, प्रेस युनियनका अध्यक्ष अमरराज नहर्की लगायतले समाजले सामाजिक उत्तरदायित्व वहन गर्दै आएको बताए ।
पुरस्कृत न्यौपाने खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं राष्ट्रिय समाचार समिति (रासस) मा र राना मगर कान्तिपुर टेलिभिजनमा आबद्ध छन् । समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार सम्प्रेषण गरी योगदान पु¥याएकाले उनीहरुलाई पुरस्कृत गरिएको समाजले जनाएको छ ।
समाजले प्रत्येक वर्ष दुई पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । हालसम्म यो पुरस्कारबाट पत्रकार ओमकार आचार्य, सोनी शर्मा, सुनिता आचार्य, नारायण खड्का र अमरराज नहर्की पुरस्कृत भइसकेका छन् ।
समाजले तनहुँमा विगत एघार वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला दश वटै स्थानीय तहमा रु १५÷१५ हजार सहयोग गरेको थियो । साथै केही वर्ष अगाडी पहिरोबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले रु दुई लाख ४४ हजार सहयोग गरेको थियो ।
समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पुर्याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ । विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौली स्थित गण्डकी विकास बैङ्कमा स्थापित अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ ।
समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमाद लगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ ।
समाजमा चार सय जना तनहँुवासी आबद्ध छन् । समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ ।