म्याग्दे । प्राइड फाउण्डेसनको आयोजनामा १ दिने महिला यौन तथा प्रजनन स्वास्थ्य सचेतना प्रशिक्षण तनहुँको म्याग्दे गाउँपालिकामा शनिवार सम्पन्न भएको छ ।
म्याग्दे गाउँपालिका र वडा नं२को सहयोगमा आयोजित उक्त कार्यक्रममा म्याग्दे गाउँपालिका प्रमुख श्रीप्रसाद श्रेष्ठले प्र्रजनन स्वास्थ्यका बारेमा विशेष सजग हुनुपर्ने बताए । प्रजनन स्वास्थ्य अति नै संवेदनशील विषय भएकाले हरेक टोलटोलमा र विद्यालय स्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन हुनुपर्नेमा श्रेष्ठले जोड दिए ।
परम्परागत चिन्तनका कारण महिलाहरुले प्रजननका बारेमा खुलेर बोल्ने हिम्मत नगरेको बताउदै श्रेष्ठले यस्ता खालका चेतनामुलक कार्यक्रमले महिलाहरुलाई स्वास्थ्यप्रति थप जिम्मेवार र सचेत बनाउने बताए ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले प्रजननका विषयमा खुलेर बोल्न नसक्दा समस्या भएको बताए । प्रजननमा पनि महिला प्रजननमा मातृशिशु दुबैको स्वास्थ्य जोडिएकाले आफुलाई परेका समस्याबारे खुलेर छलफल गर्न उनले महिलाहरुलाई आग्रह गरे ।
हाम्रो जस्तो मुलुकमा चेतनाको कमीका कारण साथै उमेरमा विवाह गरी प्रजनन प्रक्रियामा सहभागी हुने भएकाले अधिकांश महिलामा प्रजनन सम्बन्धी समस्या देखिने गरेको बताए ।
प्राइड फाउण्डेसन एजुकेशन इमपावरमेन्ट डिग्निटीका कार्यकारी प्रमुख सुमित्रा मौरातीले महिला यौन तथा प्रजनन स्वास्थ्यका बारेमा प्रशिक्षण प्रदान गरेकी थिइन् ।
जसमा व्यक्तिगत स्वच्छता, परिवार नियोजन, परिवार नियोजनका साधन, महिनावारी स्वच्छता, महिनावारी हुदा प्रयोग गरिने प्याड, बाल स्वास्थ्य मातृ स्वास्थ्य, गर्भपतन लगायत प्रजननको विविध पक्षका बारेमा प्रशिक्षण दिएको न्यु भिजन युथ क्लबका सहकोषाध्यक्ष एवम् युवा अभियन्ता विधान रानाभाटले जानकारी दिए ।
कार्यक्रममा सिकाइ पछिको अनुभव सुनाउदै सावित्रा नेपालीले भनिन् गाउँपालिकामा आजसम्म यस्ता कार्यक्रममको अनुभव गर्न पाएका थिएनौं,यस कार्यक्रमबाट महिला प्रजनन स्वास्थ्यको राम्रो ज्ञान भयो । सँगै उनले महिला र प्रजनन स्वास्थ्यलाई लक्षित गरी बेला बेला यस्ता कार्यक्रम आयोजना गरीदिन गाउँपालिकालाई अनुरोध समेत गरिन् ।
म्याग्दे गाउँपालिका वडा नं २का वडा अध्यक्ष शिव बहादुर क्षेत्रीले कार्यक्रम प्रभावकारी भएको बताउदै पालिका स्तरमा सञ्चालनको आवश्कता औल्याए । महिलाहरुमा प्रजनन स्वास्थ्यको राम्रो ज्ञान हुनुपर्ने बताउदै क्षेत्रीले कार्यक्रम आयोजक प्रति धन्यवाद व्यक्त गरे ।
वडा नं २का वडाध्यक्ष क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व वडाध्यक्ष चन्द्रबहादुर रानाभाट, स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे , सिर्जशील टोल बिकास संस्थाकी सचिव मञ्जु काफ्ले, न्यु भिजन युथ क्लबका सचिव अमिर श्रेष्ठ लगायतले बोलेका थिए ।
सो कार्यक्रममा म्याग्दे गाउँपालिका वडा नं २का १२ टोलका ७० जना महिलाहरुको सहभागीता रहेको थियो ।
साथै कार्यक्रममा पूर्व वडा सदस्य, कार्यपालिका सदस्यहरु, युथ क्लबका पदाधिकारीहरु लगायतको पनि सहभागीता रहेको कार्यक्रम सहजकर्ता विधान रानाभाटले जानकारी दिए ।