दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय दुई दिन मात्र बॉकी छ । असोज २३ गते उम्मेदवारी दर्ताको तालिका रहेकाले राजनीतिक दलहरु उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा छन् ।
नेपाली कांग्रेसले तनहुँका दुई प्रतिनिधि र दुई प्रदेशसभामा उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ। तनहुँ-१ मा वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने टुंगो लागेको छ । तनहुँ-२ मा भने शंकर भण्डारी र प्रदीप पौडेलमध्ये एक जना उम्मेदवार हुनेछन् ।
स्रोतका अनुसार तनहुँ-२ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भण्डारीले टिकट पाउने निश्चित भएको छ । प्रदीप पौडेल भन्दा भण्डारीले टिकट पाउँदा एमालेसँग प्रतिस्पर्धा गर्न सहज हुने बताइएको छ । केन्द्रमा चर्चित रहेपनि जिल्लामा पौडेल कमजोर रहेको कांग्रेसकै बुझाई छ ।