दमौली । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँमा शुक्रबारदेखि सुरु भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले विजयी सुरुआत गरेको छ । व्यास नगरपालिका–१ निर्मल माविस्थित खेलमैदानमा भएको उद्घाटन खेलमा मधेश प्रदेशलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मीले विजयी सुरुआत गरेको हो ।
विजयसँगै त्रिभुवन आर्मी क्लवले दुई अङ्क जोडेको छ । त्रिभुवन आर्मी क्लवले मधेश प्रदेशलाई ७१–१३ अङ्कले पराजित गरेको नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिए ।
त्रिभुवन आर्मी क्लवले पहिलो क्वाटरमा २२–०, दोस्रो क्वाटरमा २२–६, तेस्रो क्वाटरमा १४–४ र चौथो क्वाटरमा १३–३ अङ्क प्राप्त गरेको थियो । खेलमा त्रिभुवन आर्मी क्लवका रोशनी श्रेष्ठले सबैभन्दा बढी २१ अङ्क जोडेका थिइन् । मधेश प्रदेशका तर्फबाट पुष्पा बलामीले सात अङ्क जोडेकी थिइन् ।
प्रतियोगिता अन्तर्गत शनिबार छ खेल आयोजना हुनेछ । पाँच जना खेल्ने (फुलकोर्ट)तर्फ दुई र तीन जना खेल्ने (थ्री वाई थ्री)तर्फ चार खेल सञ्चालन हुनेछ । खेल लिगका आधारमा सञ्चालन हुने जनाइएको छ ।
पाँच जना खेल्नेतर्फ शनिबार बागमती प्रदेश र प्रदेश–१ तथा त्रिभुवन आर्मी क्लव र सुदुरपश्चिमबीच खेल हुनेछ । तीन जना खेल्नेतर्फ बागमती प्रदेश र मधेश प्रदेश, त्रिभुवन आर्मी क्लव र लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश–१ तथा सशस्त्र प्रहरी र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
प्रतियोगितका लागि फुल कोर्ट (पाँच जना खेलाडी) र थ्री वाई थ्री (तीन जना खेलाडी)का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ । पाँच जना खेलाडी खेल्नेतर्फ समूह ‘ए’ मा नेपाल आर्मी, सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश छन् भने समूह ‘बी’मा बागमती, गण्डकी प्रदेश र प्रदेश–१ छन् ।
तीन जना खेलाडी खेल्नेतर्फ समूह ‘ए’मा मधेश, बागमती, लुम्बिनी र नेपाल आर्मी छन् भने समूह ‘बी’मा प्रदेश–१, सशस्त्र प्रहरी, गण्डकी र सुदुरपश्चिम प्रदेश छन् ।