तनहुँका मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँका मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन माग

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०७९, शनिबार

    दमौली । अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको सहृदयी मञ्च तनहुँले जिल्लाका मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन माग गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मञ्चले मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन माग गरेको हो ।

    मञ्चले जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालसँग आज भेट गरी अपाङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई मतदान केन्द्रसम्म पुगेर मतदान गर्न अप्ठ्यारो हुने भएकाले सहज रुपमा वातावरण मिलाउन माग गरिएको मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिइन् ।

    मञ्चले अपाङ्गतामैत्री निर्वाचन प्रणाली, मतदाता शिक्षा, अपाङ्गतामैत्री मतदान केन्द्रको निर्माण तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निर्वाचनमा मतदानकेन्द्रसम्म पुग्नका लागि सवारी पासका विषयमा छलफल गरेको छ ।

    मञ्चले व्यास नगरपालिका–२, ३ र ४ का मतदानकेन्द्र अपाङ्गतामैत्री भए नभएको विषयमा स्थलगत अवलोकन गरेको छ । अनुगमनका क्रममा मञ्चका सचिव कृष्ण थापा, अपाङ्गता अधिकारकर्मी मदन पौडेल, रिसेड तनहुँका उपाध्यक्ष इश्वर बास्तोला, सदस्य किशोर न्यौपाने, अपाङ्गता महिला सशक्तीकरण समाजका सदस्य जानुका खनाल सहभागी थिए ।

    निर्वाचन कार्यालयका प्रमुख ढकालले मतदान केन्द्र व्यवस्थापन गर्दा अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताए । “मतदान केन्द्रलाई तत्कालै केही गर्न सक्ने अवस्था छैन, मौजुदा केन्द्रहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमा मतदान गर्न पाउने व्यवस्था मिलाउँछौ,” ढकालले भने ।

    तनहुँ क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्र छन् । क्षेत्र नम्बर २ तर्फ ७३ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र छन् । क्षेत्र नम्बर १ प्रदेश (१) तर्फ ३६ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेश (२) तर्फ ३३ मतदानस्थल र ७० मतदान केन्द्र छन् । क्षेत्र नम्बर २ प्रदेश (१) तर्फ ३७ मतदानस्थल र ८० मतदान केन्द्र तथा प्रदेश (२) तर्फ ३६ मतदानस्थल र ७३ मतदान केन्द्र छन् ।