कोभिडपछि पहिलोपटक बन्दीपुरमा पर्यटकको चाप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोभिडपछि पहिलोपटक बन्दीपुरमा पर्यटकको चाप

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०७९, आईतवार

    दमौली । कोभिड–१९ को सङ्क्रमणले देशकै अवस्था प्रभावित हुँदा तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटनमा असर नपुग्ने कुरै भएन । कोभिड–१९ को सङ्क्रमणका कारण बन्दीपुरको पर्यटन व्यवसाय नराम्ररी प्रभावित बन्यो ।

    विदेशी त परको कुरा, स्वदेशी पर्यटक पनि बन्दीपुरमा देखिन मुस्किल परे । कोभिड–१९ को सङ्क्रमण घट्दै गएपछि स्वदेशी पर्यटक फाट्टफुट्ट बन्दीपुरमा देखिन थाले । पर्यटन व्यवसायबाटै गुजारा चलाउँदै आएका यहाँका व्यवसायीमा केही राहतको महशुस हुन थाल्यो ।

    बन्दीपुरको पर्यटन व्यवसाय पुनःपुरानै अवस्थामा फर्किने प्रयासमा छ । कोभिड–१९ पछि पहिलो पटक बन्दीपुरमा विदेशी तथा पर्यटकको चाप बढेको छ । तिहारको लामो बिदाका कारण बन्दीपुरमा कोभिडपछि पहिलो पटक पर्यटकको चाप बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउँछन् ।

    “बन्दीपुरमा विदेशी पर्यटक देख्न मुस्किल भइसकेको थियो, शुक्रबार मात्रै एक सय विदेशी पर्यटक बन्दीपुर आइपुगेका छन्”, प्रधानले भने, “स्वदेशी पर्यटकको आगमन पनि उल्लेख्य छ ।”

    प्रधानका अनुसार शुक्रबार र शनिबार गरी बन्दीपुरमा पाँच हजारभन्दा बढी स्वदेशी पर्यटक आएका छन् । “तिहार र छठका कारण लामो बिदा परेकाले स्वदेशी पर्यटकमा घुम्ने संस्कृतिको विकास भएको छ”, उनले भने, “दसैँ बिदामा पनि स्वदेशी पर्यटकको बन्दीपुरमा आगमन भएको थियो ।”

    जाडो मौसम सुरु भएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल बढ्नेमा व्यवसायी आशावादी छन् । होटल व्यवसायी बसन्त पौडेलले अब बन्दीपुरमा पर्यटकको आगमन बढ्ने बताए । यो मौसम विदेशीको घुम्ने समय भएकाले बन्दीपुर आउनेक्रम बढ्नेमा विश्वस्त रहेको उनले बताए ।

    सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।