राेटरीकाे स्वास्थ्य शिविरमा मुख्यमन्त्रीले भने – सामाजिक सङ्घसंस्थाको सहकार्यबाट प्रदेशलाई समृद्ध बनाउँछौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राेटरीकाे स्वास्थ्य शिविरमा मुख्यमन्त्रीले भने – सामाजिक सङ्घसंस्थाको सहकार्यबाट प्रदेशलाई समृद्ध बनाउँछौ

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७९, मंगलवार

    दमाैली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सामाजिक सङ्घसंस्थाको सहकार्यबाट प्रदेशलाई समृद्ध बनाइने बताएका छन् । रोटरी क्लव अफ दमौलीको आयोजना र ताइवनका चिकित्सकको सहयोगमा दमौलीमा मङ्गलबारदेखि सुरु वृहत स्वास्थ्य शिविरको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सरकारको एकल प्रयासबाट मात्र विकास सम्भव नरहेकाले सबैसँग सहकार्य गरिने बताए।

    समृद्ध नेपाल ः सुखी नेपाली नारालाई सार्थक दिन सामाजिक सङ्घसंस्थासँग सहकार्य गर्न प्रदेश सरकार तत्पर रहेको मुख्यमन्त्री पोख्रेलको भनाई थियो । नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी लगायत थुप्रै क्षेत्रमा रोटरी क्लवको सहयोग अतुलनीय रहेको बताउँदै मुख्यमन्त्री पोख्रेलले भने, “रोटरी क्लवले आयोजना गरेको स्वास्थ्य शिविरले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।”

    मुख्यमन्त्री पोख्रेलले सदरमुकाममा रहेको दमौली अस्पताललाई शय सय्यामा विस्तार गर्न प्रदेश सरकार सहयोगका लागि तयार रहेको बताए।

    कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रोटरी क्लवले स्वास्थ्य, शिक्षा क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको बताए। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, दमौली अस्पतालका अध्यक्ष देवेन्द्र थापा लगायतले दुई दिने स्वास्थ्य शिविरले ग्रामीण भेगका जनतालाई सेवा दिन सक्नुपर्ने बताए।

    ताइवनका चिकित्सकको सहभागितामा सुरु शिविर बुधबारसम्म चल्नेछ । दमौली लगायत आसपास जनघनत्व बढ्दै गएको र दमौलीमा सुविधासम्पन्न स्वास्थ्य सेवा नहुँदा सर्वसाधारण पोखरा जानुपर्ने बाध्यता रहेकाले वृहत स्वास्थ्य शिविर आयोजना गरिएको क्लवका पूर्व अध्यक्ष एवं कार्यक्रमका संयोजक रजिनलाल श्रेष्ठले जानकारी दिए।

    स्वास्थ्य शिविरमा ताइवनबाट आएका २६ जना चिकित्सकले सेवा दिनेछन् । यसका अतिरिक्त दमौली अस्पताल र पोखराबाट आएका चिकित्सकले विशेषज्ञ सेवा प्रदान गर्ने कार्यक्रमका सहसंयोजक एवं क्लवका पूर्व अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए।

    शिविरमा दाँतको विशेषज्ञ सेवा, हाडजोर्नी तथा चिकित्सा सेवा, आँखा सम्बन्धी विशेषज्ञ चिकित्सा सेवा, स्त्री तथा प्रसुती रोग सेवा, यौनरोग विशेषज्ञ सेवा, प्रयोगशाला परीक्षण सेवा, बालरोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे सेवाका साथै निःशुल्क औषधि वितरण गरिने क्लवले जनाएको छ ।