झापुटारबाट चुनावी अभियान सुरु गर्दै गुरुङले भने – प्रतिबद्धता पूरा गर्छौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    झापुटारबाट चुनावी अभियान सुरु गर्दै गुरुङले भने – प्रतिबद्धता पूरा गर्छौ

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०७९, शुक्रबार

    दमौली । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता पूरा गर्ने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारबाट चुनावी अभियान सुरु गर्दै पूर्वमन्त्री गुरुङले एमालेले सार्वजनिक गरेका घोषणापत्र कार्यान्वयन हुने बताए ।

    तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङले एमालेले जे बोल्छ त्यो गर्ने दाबी गर्दै सार्वजनिक गरिएको २० ग्यारेण्टीसहितको घोषणापत्र कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरे । “मङ्सिर ४ गते हुने निर्वाचनपछि अध्यक्ष केपी ओली नेतृत्वमा बहुमतको सरकार बन्छ, एमाले नेतृत्वमा देश विकासले सार्थक रुप लिन्छ”, गुरुङले भने ।

    देश विकासको सङ्कल्प बोकेर एमाले चुनावी अभियानमा होमिएको भन्दै गुरुङले सुखी नेपाली समृद्ध नेपालको अभिभारा पूरा गरेरै छाड्ने दाबी गरे । तनहुँ क्षेत्र नं २ मा एमालेले सुरु गरेको विकास अभियानलाई निरन्तरता दिन आफू उम्मेदवार बनेको गुरुङले प्रष्ट पारे । “सडक, खानेपानी, बाटोका काम अगाडि बढेका छन्, यसलाई निरन्तरता दिनु छ, एमालेको विकास अभियानका कारण जनताको आकर्षण बढेको छ”, उनले भने ।