दुलेगाैडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले शुक्लागण्डकी नगरपालिकालाई सेटलाइट सिटीको रुपमा विकास गर्न अध्ययन भइरहेको बताएका छन् ।
गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका गुरुङले पोखराको विकल्पको रुपमा अब शुक्लागण्डकीलाई अगाडी बढाउनुपर्ने खाँचो रहेको उल्लेख गरे । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९, १०, ११ र १२ का विभिन्न क्षेत्रमा साेमबार भएको मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरुङले उक्त कुरा बताएका हुन् ।
बजार विकासका लागि औद्योगिक क्षेत्र, विश्वविद्यालय र शिक्षण अस्पताल आवश्यक पर्ने बताउँदै उनले आफू मन्त्री हुँदा उक्त प्रस्ताव ल्याएको उल्लेख गरे । “अब हरेक विषय पोखरामा मात्र सीमित गर्ने होइन,” उनले भने “शुक्लागण्डकीलाई सेटलाईट सिटीको रुपमा विकास गर्न गुरुयोजना तयार गर्ने काम भइरहेको छ ।”
औद्योगिक क्षेत्र स्थापनाका लागि वडा नम्बर ९ मा आफ्नै सरकारको पालामा काम अघि बढेको बताउँदै विभिन्न कारणले ढिलाई भइरहेको गुरुङले बताए । उनका अनुसार बेलचौतारामा गण्डकी विश्वविद्यालयका लागि हाल जग्गा प्राप्तिको काम भइरहेको छ । साथै जिपी अस्पताललाई विशिष्टिकृत र शिक्षण अस्पतालको रुपमा विकास गर्न प्रस्ताव गरिएको उनले बताए ।
तनहुँ २ प्रेदश १ का उम्मेदवार श्यामराजा महतले निर्वाचित भएपछि जनताकै बीचमा रहने बताउँदै जनताको शिर झुक्ने काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।