तनहुँमा २८ करोडको सुन्तला उत्पादन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँमा २८ करोडको सुन्तला उत्पादन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

    कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष रु २८ करोड बराबरको सुन्तला उत्पादन भएको छ । एक हजार चार सय ८० हेक्टरबाट नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको तिवारीले बताए ।

    अघिल्लो वर्ष रु २६ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । त्यसवर्ष एक हजार चार सय ६० हेक्टर क्षेत्रफलबाट नौ हजार तीन सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका ठाउँमा बिक्री हुने गरेको छ ।

    यसका साथै जिल्लाकै दमौली, दुलेगौँडा, खैरेनीटार, भीमाद लगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेका छन् ।

    जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ को बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमतिलगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।