देवघाटमा पाँच लाख भक्तजनले माघेसंक्रान्ति मेला भरे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा पाँच लाख भक्तजनले माघेसंक्रान्ति मेला भरे

    खबरपुञ्ज संवाददाता

    २ माघ २०७९, सोमबार

    दमौली । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा पाँच लाख भन्दा बढी भक्तजनले माघेसङ्क्रान्ति मेला भरेका छन । प्रसिद्ध धार्मिक तीर्थस्थलमा आइतबार पाँच लाख भन्दा बढी भक्तजनले माघेसङ्क्रान्ति मेला भरेको देवघाट क्षेत्र विकास समिति तनहुँले जनाएको छ ।

    मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतबाट पनि भक्तालु देवघाट आएको क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिए । “माघेसङ्क्रान्ति मेला शान्तिपूर्ण रुपमा सम्पन्न भयो, कुनै अप्रिय घटना भएन,” उनले भने, “हामीहरुले अनुमान गरेभन्दा पनि बढी भक्तजनको आगमन भयो ।” क्षेत्र विकास समितिले पाँच लाख भक्तजनले मेला भर्ने अनुमान गरेको थियो ।

    “शनिबारदेखि नै भक्तजनको आउने क्रम चल्यो, पाँच लाख भन्दा बढी भक्तजन आएको अनुमान छ,” उनले भने । आइतबार दिउँसो १ बजेसम्म भक्तजनको आगमन बढ्दो रुपमा रहेको र ४ बजेपछि घट्दो क्रममा रहेको थियो ।

    हरेक वर्ष पुसको अन्तिम दिन र माघ १ गते देवघाटमा माघे सङ्क्रान्ति मेला लाग्ने गर्दछ । मेलालाई व्यवस्थापन गर्न क्षेत्र विकास समितिले एक सय ५१ सदस्यीय मूल समिति र विभिन्न उपसमिति बनाएर मेला व्यवस्थापनको काम गरेको थियो ।

    चितवनतर्फको देवघाट र तनहुँतर्फको वेणीमा स्नान गर्नका लागि सीमा तय गरेर डोरी टाँग्ने काम गरिएको थियो । स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, सशस्त्र प्रहरीको उद्धार टिम र स्थानीय बोटे समुदायलाई तयारी अवस्थामा राखिएको थियो ।

    खानेपानी, यातायात, पार्किङ, शौचालय लगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनाईएको थियो । यसपटक चितवनबाट देवघाट जाने झोलुङ्गे पुलमा एक पटकमा एक सय जनाभन्दा बढीलाई जान नदिने गरी सुरक्षाकर्मी राखिएको थियो ।

    दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न लगाइएको थियो । नदीबाट नै वारपार गर्न चाहनेहरुका लागि ३५ वटा डुङगाको व्यवस्था गरिएको थियो । माघे सङ्क्रान्तिमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मानिन्छ । गोसाइँकुण्डबाट बगेको त्रिशुली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको सङ्गम देवघाटको वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ ।