दमौलीमा कोसेली घर सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दमौलीमा कोसेली घर सञ्चालन

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०७९, सोमबार

    दमाैली । तनहुँको सदरमुकाम दमौलीमा कोसेली घर सञ्चालनमा आएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँले व्यास नगरपालिका–३ मा कोसेली घर सञ्चालनमा ल्याएको हो ।

    कोसेली घरको साेमबार उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कोसेली घरलाई तनहुँको ब्राण्डको रुपमा विकास गर्नुपर्ने बताए । वाग्लेले पाहुनालाई केही सामग्री उपहार दिनुपर्दा कोसेली घरबाट खरिद गर्ने बानीको विकास गराउन आग्रह गरे ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कोसेली घर निरन्तरता हुनुपर्ने भन्दै यसको सञ्चालनका लागि बीउ पुँजीका रुपमा नगरपालिकाका तर्फबाट रु पाँच लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले कोसेली घरको निरन्तरताका लागि गाउँपालिकाका तर्फबाट सहयोग रहने बताए। पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अविनाश कुंवरले कार्यालयले भवन निर्माण गरेर सञ्चालन गरेको कोसेली घर गण्डकी प्रदेशमै पहिलो रहेको बताए।

    कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले स्थानीय उत्पादन प्रबद्र्धनका लागि कोसेली घरले पुलको काम गर्ने बताए ।

    महिलाहरुलाई उद्यमशीलतामा जोड्न कोसेली घर सञ्चालन गरिएको महिला उद्यमी सङ्घ तनहुँका अध्यक्ष कल्पना गौलीले बताइन्। जिल्लाभरका महिलाहरुले उत्पादन गरेका सामग्री एकैठाउँबाट विक्रीवितरण गर्न कोसेली घर सञ्चालन गरिएको उनले बताइन् ।

    कोसेली घरमा डोको, कुचो, सिस्नो, ढकिया, बाँसका सामग्री, मूढा लगायतका सामग्री विक्री वितरणका लागि राखिएको छ । महिला उद्यमीबाट खरिद गरी ल्याइएका सामग्री कोसेली घरमार्फत् न्यून मूल्यमा विक्री गरिने गौलीले जानकारी दिइन्।

    कोसेली घर सञ्चालनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट रु पाँच लाख सहयोग गरेको थियो । उक्त रकमबाट सजावटका काम गरिएको छ । त्यस्तै सोही मन्त्रालयबाट पछि रु दुई लाख सहयोग भएको थियो । उक्त रकमबाट गोदाम निर्माण गरिएको छ ।

    कोसेली घर सञ्चालनका लागि पर्यटन तथा उद्योग कार्यालयले भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । कोसेली घरमा आठवटा पालिकाका महिला उद्यमीहरुले निर्माण गरेका सामग्री ल्याइएको छ ।