भानु स्मृति पार्कको डिपिआर तयार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानु स्मृति पार्कको डिपिआर तयार

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७९, शुक्रबार

    दमौली । आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानु स्मृति पार्क निर्माण गरिने भएको छ । भानु नगरपालिका-४ पुरनडिहीमा भानु स्मृति पार्क निर्माण गर्न लागिएको हो ।

    भानुभक्तको जन्मथलोलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने उद्देश्यसहित पूर्वाधार निर्माण गर्न लागिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताए ।

    जन्मस्थल विकास समितिको कार्यालयभन्दा एक किलोमिटर टाढा रहेको उक्त ठाउँमा भानु स्मृति पार्क निर्माणका लागि डिपिआर तयार भएको छ । सहरी विकास मन्त्रालयले सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत पार्कको डिपिआर तयार गरेको रानाभाटले बताए ।

    “भानु जन्मस्थललाई साहित्यिक पर्यटनको थलो बनाउने उद्देश्यसहित विभिन्न पूर्वाधार निर्माण गर्दै जाने उद्देश्य राखिएको छ, सोही उद्देश्यलाई पूरा गराउनका निमित्त भानुस्मृति पार्कको निर्माण गर्न लागिएको हो,” रानाभाटले भने ।

    मन्त्रालयबाट चालु आर्थिक वर्षमा रू एक करोड ५० लाखका लागि बोलपत्र आह्वान भइसकेको छ । “चालु आर्थिक वर्षमै निर्माण सुरु गर्ने लक्ष्य छ भने तीन वर्षभित्र पार्क निर्माण हुनेछ”, उनले भने ।

    पार्कमा भानुभक्त आचार्य, मोतीराम भट्ट र भानुभक्तलाई चिनाउने घाँसीको मूर्ति निर्माण गरिनेछ । त्यस्तै हल, मन्दिर, पानीको फोहरा, सानो चिडियाखाना र बालबाटिका पनि पार्कभित्र निर्माण हुनेछन् । जन्मस्थल विकास समितिकै मातहत रहेको १४ रोपनी क्षेत्रफलमा पार्क निर्माण हुनेछ । गत वर्ष नै निर्माण सुरु भइसक्नुपर्ने मन्त्रालयबाट बजेट विनियोजन नहुँदा काम ढिलाइ भएको रानाभाटले बताए ।