दमाैली । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकदिन भड्खालामा पर्ने दावी गरेका छन् । राष्ट्रिय युवा संघ तनहुँको बिहीबार आयोजित नवाैं अधिवेशनको उद्घाटन गर्दै बस्नेतले प्रचण्ड भड्खालामा परेको दिन एमालेले हात नथाम्ने बताए ।
कांग्रेसले प्रधानमन्त्री नदिएपछि बालकोट आएर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डलाई कांग्रेसले एक दिन हात छाडिदिने बताए । “काङ्ग्रेसले कुन दिन हात छाडिदिन्छ, त्यो दिन एमालेले उनलाई हात थाम्ने वाला छैन,” उनले भने ।
प्रचण्डले सुध्रिने मौका गुमाएको भन्दै प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले सिंगो कम्युनिष्ट आन्दोलनलाई ओरोला बाटोमा हिँडाएको बताए । “आज उनीहरुले केही थान मन्त्री पाउलान्, तर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने अभियानमा उहाँहरु लाग्नुभयो,” उनले भने ।