दमौली । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा नेकपा एमालेले तनहुँ-१ मा पूर्व आइजिपी सर्वेन्द्र खनाललाई उन्मेदवार बनाउने निर्णय गरेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जिल्लाका नेताहरुसहितको बैठकले खनाललाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो । सोही सिफारिसलाई पार्टीको सचिवालयको बैठकले अनुमोदन गरेको छ ।
उपनिर्वाचनका लागि उम्मेदवार हुन एमालेबाट ६ जना आकांक्षी थिए । तीमध्ये खनाल नै चर्चित र प्रभावशाली भएपछि उनले टिकट पाएका हुन् । कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार टुंगिसकेका छन् । प्रतिस्पर्धी चर्चित भएकाले एमालेले पनि राष्ट्रिय फिगर भएको व्यक्तिलाई उम्मेदवार बनाएको हो । एमालेबाट खनाल उम्मेदवार बनेपछि उपनिर्वाचन रोचक हुने भएको छ ।
मंसिर ४ को निर्वाचनमा रामचन्द्र पौडेल माओवादीसँगको गठबन्धनबाट करिब पॉच हजार मतान्तरले विजयी भएका थिए ।
पौडेलले २५ हजार तीन सय १८ मत ल्याएका थिए । यहाँ नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले उनले १९ हजार ९ सय ४३ मत ल्याएका थिए ।
यहाँ स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका उम्मेदवार विनोद घर्तीले २ हजार चार सय ८३ मत ल्याएका थिए। तनहुँ १ मा ६८१५८ मत खसेको थियो।