दमौली । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथिको अनुशासनको कारबाही फुकुवा गरेको छ ।
उपचुनावलाई लक्षित गरेर तनहुँ १ मा दुईपटक स्वतन्त्र उम्मेदवार बनेका जोशीको कारबाही फुकुवा भएको हो ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले २०७९अघि कारबाहीमा परेकालाई आममाफी दिने निर्णयबाट जोशीको कारबाही फुकुवा भएको हो ।
रामचन्द्र पौडेलसँगको व्यक्तिगत लडाइँकै कारण उनको राजनीति सकिएको हो । अघिल्लो निर्वाचनमा पौडेलले जोशीको उम्मेदवारी नै खारेज गराए पनि पराजित भएका थिए । यसपटक जोशी उम्मेदवार बनेर करिब साढे ६ हजार मत पाएका थिए ।
जोशीको समर्थन नभए उपचुनावमा गोविन्द भट्टराईलाई जित्न कठिन हुने देखिएपछि उनीसहितका नेताहरूको आग्रहमा कारबाहीमुक्त गरिएको बताइन्छ । यद्यपि जोशीका छोरा दीपकराज भने २०७९ कै स्थानीय तह निर्वाचनमा दमौलीको मेयर उम्मेदवार बनेर झिनो मतले कांग्रेस जिल्ला सभापति बैकुण्ठ न्यौपानेसँग पराजित भएका थिए ।