दमाैली । व्यास नगरपालिका–७ बानियाँटारका स्थानीयले यसपटक घण्टीमा भोट हाल्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्ले सोमबार बानियाँटार पुग्दा स्थानीयले यसपटक सबै पार्टीलाई भोट दिएपनि परिवर्तन नभएकाले यसपटक घण्टीमा भोट हाल्ने बताए ।
विभिन्न कालखण्डमा भएका निर्वाचनमा विभिन्न पार्टीका उम्मेदवारलाई जिताएपनि जनताको पक्षमा केही काम नभएको उनीहरुको आक्रोश थियो ।
स्थानीय हरिबहादुर बानियाँले जनताले अहिले परिवर्तन चाहेको र त्यो परिवर्तन राष्ट्रिय स्वतन्त्र पार्टीबाट सम्भव हुने आफूहरुले देखेको बताए । “धेरै पार्टीलाई भोट हाल्यौ, खै त केही भएन, जनताका लागि केही गरेनन् । सबै आफ्नो स्वार्थमा केन्द्रित भए,” उनले भने ।
स्थानीय रामकृष्ण बानियाँले डा. वाग्लेलाई तनहुँले मात्र नभई देशले खोजेको बताए । “वाग्लेमा प्रष्ट दृष्टिकोण छ, उहाँले जिम्मेवारी पाउँदा आफूलाई प्रमाणित गर्नुभएको छ, तनहुँले उहाँ जस्तो उम्मेदवार पाउँदैन । जसरी पनि जिताउनुपर्छ,” उनले भने ।
नेपाली कांग्रेस तनहुँका पूर्व सचिव विश्व बास्तोलाले जनताको जीवनस्तर परिवर्तनका लागि राजनीति हुनुपर्नेमा अहिलेका दलहरुबाट त्यो सम्भव नदेखिएको बताए । निराश भएका जनतालाई आशा जगाउने काम राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको बताउँदै बास्तोलाले भने, “धेरै पार्टीलाई हेरियो अब एकपटक रास्वपालाई हेरौ । वाग्लेलाई जिताऔ ।”