दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गलत काम गरे आफ्ना पार्टीका सांसदलाई फिर्ता बोलाउने बताएका छन् । दमौलीमा आइतबार चुनावी सभामा बोल्दै उनले पाँच वर्षका लागि निर्वाचित भएका हौ भनेर गलत काम गरे त्यस्ता सांसदलाई फिर्ता बोलाइने चेतावनी दिए । गलत काम गर्ने पार्टीका जोसुकैलाई पनि कारवाही गरिने लामिछानेले बताए ।
लामिछानेले सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेको उल्लेख गरे । “देश बनाउने सङ्कल्प बोकेर अगाडी बढेका छौ, यो मुद्धामा सबै राजनीतिक दलबीच सहमति आवश्यक छ,” सभापति लामिछानेले भने।
देशको भ्रष्टाचारका सूचक हेर्ने हो भने भ्रष्टाचारलाई जीवनशैली मान्न थालिएको भन्दै लामिछानेले भने, “मुलुकमा सफाई आवश्यक, भ्रष्टाचारको सफाई आवश्यक छ । भ्रष्टाचार रोग बनिसकेको छ, यसले नेपाललाई धारासायी बनाउँछ । यसको विरुद्धमा उभिनैपर्छ भनेर यसको विरुद्धमा उभिएका छौ ।”
स्वर्णिम वाग्ले भन्छन् : मलाई हराउन सिंगो राज्य लागिपरेको छ
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफूलाई हराउन सिंगो राज्य लागिपरेको बताएका छन् । आफू एक्लाे स्वर्णिम वाग्लेलाई हराउन राज्यशक्ति नै लागिपरेकाे उनकाे आराेप थियाे ।
‘स्वर्णिम वाग्लेलाई हराउन राज्य नै लागिपरेको छ, दर्जनौ केन्द्रीय नेता परिचालित गरिएका छन्,’ उनले भने, ‘मेरो बारेमा अनर्गल प्रचार गरिएको छ ।’ वाग्लेले निजी मामिलामा छिरेर आफ्नाे बदनाम गर्न खाेजिएकाे प्रयास गरिएकाे बताए । ‘श्रीमती र छोरीलाई समेत छोएर निकृष्ट राजनीति गर्न खोजिएको छ । मैले प्रतिद्वन्द्वीलाई गाली गरेकाे छैन । मेराे त्यस्ताे स्वभाव पनि छैन,’ उनले भने ।
आफुले फराकिलाे मतान्तरले चुनाव जित्ने दावी गर्दै उनले आफ्ना प्रतिद्वन्द्वी तिलमिलाएकाे बताए । ‘तैपनि बुथ कब्जा रोक्न हजारौं स्वयंसेवक परिचालन गर्नुपर्नेछ . हामी फराकिलो मतान्तरले चुनाव जित्दैछौ, जनताले पहरेदारको भूमिका खेल्नुपर्ने अवस्था आउन सक्छ ।”