नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारवाहीको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारवाहीको माग

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०८०, बुधबार

    दमाैली । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने बहानामा भ्रष्टाचारमा मुछिएकाहरुलाई कारवाहीको माग गर्दै नेकपा (एकीकृत समाजवादी) तनहुँ निकट जनवर्गीय सङ्गठनले सरकारसँग माग गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई आज ज्ञापनपत्र बुझाउँदै जनवर्गीय सङ्गठनले यो प्रकरणमा संलग्न भएका सबैलाई कारवाही गर्न र तिनीहरुलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    मुद्धालाई कमजोर तथा निष्प्रभावी नपार्न राजनीतिक दलहरु र अधिकारकर्मी तथा नेपाली नागरिकहरु सडकमा प्रदर्शन गरिरहेको भन्दै ज्ञापनपत्रमा भनिएको छ, “नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउन आजसम्म सरकारले राखेको अडान, कार्य र सक्रियताले आम नागरिकको बीचमा सकारात्मक सन्देश प्रवाह गरेको छ । निराश जनता केही मात्रामा आशावादी बनेका छन् ।”

    देशका कतिपय उच्च पदस्थ नेता, पूर्वमन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरुले नै देशका नागरिकहरुलाई अर्को देशको नक्कली नागरिक बनाई विक्री गर्नु मानव बेचविखनको कार्यमात्र नभई राष्ट्रप्रतिको धोका भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । मुद्धालाई कमजोर बनाई सामान्य कसुरको रुपमा परिणत गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र नगर्न माग गरिएको छ ।

    ज्ञापनपत्र बुझाएपछि व्यास नगरपालिका–३ अनसनचोकमा आयोजित कोणसभामा बोल्दै नेकपा (एकीकृत) समाजवादीका स्थायी कमिटी सदस्य शारदा सुवेदीले यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्नुपर्ने बताए।

    पार्टीका पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकालाई पक्राउ गरेर सरकारले सकारात्मक काम गरेको भन्दै यो प्रकरणको छानबिन गरी कारवाही गर्न माग गरे।

    नेकपा (एकीकृत समाजवादी) तनहुँका अध्यक्ष श्रीराम कार्कीले नक्कली भुटानी प्रकरणमा मुछिएका सबैलाई कारवाही गर्न दृढ भएर अगाडी बढ्न सरकारलाई आग्रह गरे।