दमौली । नेपाल प्रेस युनियन तनहुँले तीन पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाको शनिबार आयोजित आठौ अधिवेशनका अवसरमा विभिन्न पत्रकारिता पुरस्कारबाट तीन जनालाई पुरस्कृत गरिएको हो ।
शाखामा स्थापित पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत र युनियनका पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारी पुरस्कृत भएका छन् ।
पूर्वअध्यक्ष वाग्लेलाई ‘बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ । त्यस्तै राससका कार्यकारी सम्पादक एवं प्रदेश तथा जिल्ला ब्युरो प्रमुख बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि पनि रु १० हजार रहेको छ ।
यस्तै गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु १० हजार रहेको छ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले उहाँहरुलाई उक्त पुरस्कार प्रदान गरे । i