दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाले गण्डकी प्रदेश सरकार समक्ष स्वास्थ्य क्षेत्रका विभिन्न माग गरेको छ । अध्यक्ष शुक्र चुमानको नेतृत्वमा प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडासँग भेट गरी ट्रमा अस्पताल निर्माणदेखि पालिकास्तरीय अस्पतालमा चिकित्सकको व्यवस्था गर्न माग गरेको हो ।
पृथ्वीराजमार्ग अन्तर्गत ७२ किलोमिटर खण्ड रहेको तनहुँमा ट्रमा अस्पतालको आवश्यकता रहेको र त्यसका लागि सत्रसयमा उपयुक्त हुने चुमानले बताए ।
टोलीले मार्कीचोकमा स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टर स्थापना, डायलासिस सेवा सञ्चालनका लागि उपकरण माग, विद्यालयका लागि बस, विज्ञान प्रयोगशाला स्थापना, स्वास्थ्य संस्था र अस्पतालका लागि औषधि र ल्याब सामग्री व्यवस्थापन र माग, अस्पताल को सेवा बढाउन जनशक्ति व्यवस्थापन, एक विद्यालय एक नर्स माग, टेलिमेडिसिन सञ्चालन र व्यवस्थापनको माग गरिएको छ । त्यस्तै आपतकालिन शल्यक्रिया सहितको प्रसूति सेवा संचालनका लागि उपकरणको व्यवस्था गर्न माग गरिएको छ ।
मन्त्री सिंखडाले पालिकाको मागका विषयमा आफू सकारात्मक रहेको बताइन् ।
उक्त टोलीमा ऑबुखैरेनीका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा लगायत सहभागी थिए ।