बिग्रिएको डेढ महिनापछि डायलासिस उपकरण सञ्चालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिग्रिएको डेढ महिनापछि डायलासिस उपकरण सञ्चालनमा

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०८०, बुधबार

    दमौली । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको डायलासिस उपकरण बिग्रिएको डेढ महिनापछि सञ्चालनमा आएको छ । डायलासिस उपकरण बिग्रिदा मिर्गौला पीडितलाई डायलासिस गर्न समस्या हुँदै आएको थियो ।

    गत वैशाखदेखि बिग्रिएका सातमध्ये पाँच उपकरण मङ्गलबार मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको मिर्गाैला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए । उपचार केन्द्रमा कूल ११ उपकरण रहेकामा सात वटा बिग्रिएर चारवटा मात्रै सञ्चालनमा थियो ।

    राष्ट्रिय मिर्गौला उपचार केन्द्रका प्राविधिक टोलीले बिग्रिएको उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याएको पण्डितले बताए । उनले भने, “यसअघि पनि धेरै पटक मर्मतको प्रयास भएको थियो, तर सञ्चालनमा आउन सकेको थिएन । पाँच वटा पुनः सञ्चालनमा आएपछि अब नौ वटाबाट सेवा दिन सक्छौ ।”

    चार वटा मात्रै उपकरण सञ्चालनमा हुँदा मिर्गौला पीडितलाई समस्या हुँदै आएकामा अब नौ वटा उपकरण सञ्चालन भएपछि थप सहज हुने पण्डितले बताए । “चारवटा उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाएका थिए, जबकी यसअघि ११ वटै सञ्चालनमा हुँदा दैनिक २७ जनाले सेवा पाउँथे,” उनले भने, “अब थप पाँच वटा सञ्चालनमा आएकाले सेवा लिनेको सङ्ख्या बढ्छ ।” केन्द्रले दैनिक बिहान ७ बजेदेखि राति ११ बजेसम्म डायलासिस सेवा सञ्चालन गरेको छ ।

    दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषि काफ्लेसँगको समन्वयमा उपकरण पुनः सञ्चालनमा ल्याएको बताए । “लामो समयदेखि उपकरण बिग्रिएर बस्दा मिर्गौला पीडितलाई समस्या भएको थियो, हामीले चाहँदा चाहँदै पनि बेलैमा मर्मत गर्न सकेनौ । बिरामीले दैनिक फोन गर्दै गुनासो गर्नुहुन्थ्यो,” थापाले भने, “बिग्रिएका उपकरण सञ्चालनमा आएपछि राहत हुन्छ ।”

    केन्द्रमा हाल डायलासिस सेवा लिने कूल सङ्ख्या ५० जना रहेका छन् । तर अझै ३० जना मिर्गौला पीडित डायलासिसका लागि पालो पर्खिदै छन् । तनहुँका विभिन्न ठाउँका मिर्गौला पीडितले मिर्गौला उपचार केन्द्रमा डायलासिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् । नियमित रुपमा डायलासिस गराउनुपर्ने उनीहरुले हाल पोखरामा डायलासिस गरिरहेका छन् ।

    उपचार केन्द्रमा डायलासिस गराइरहेका मिर्गौला पीडितले मिर्गौल प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गए मात्रै नयाँले मौका पाउने अवस्था रहेको पण्डितले बताए । “ठाउँ खाली भए मात्रै नयाँलाई मौका दिने हो, कि उहाँहरुले मिर्गौला प्रत्यारोपण गर्नुप¥यो कि अन्यत्रै जिल्लामा स्थानान्तरण भएर जानुप¥यो,” उनले भने, “ठाउँ खाली भएपछि नाम दर्ता गरेकाहरुलाई यहाँ डायलासिसको व्यवस्था मिलाउँछौ ।”

    विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलासिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । युनिटमा हालसम्म दुई सय २८ ले डायलासिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौला पीडितले पनि डायलासिस सेवा लिइरहेका छन् ।