दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले खसी भनेर बाख्रीको मासु बेच्ने दुई जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भई हाल तनहुँको व्यास नगरपालिका–५ चापाघाट बस्ने १९ वर्षीय इस्तखास आलम र सोही ठाउँ बस्ने ४० वर्षीय सनोज देवान रहेको प्रहरीले जनाएको छ ।
व्यास नगरपालिका–३ तरकारी लाइनमा सञ्चालित महम्मद फिरोज मासु पसलमा अनुगमनका क्रममा उनीहरुलाई खसी भनेर बाख्री काट्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
प्रहरीले पसल सञ्चालक आलम र बाख्री काट्दै गरेका देवानलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय तनहुँबाट कालोबजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरेको छ ।
तनहुँ मासु व्यवसायी सङ्घमा दर्ता रही सञ्चालन भइरहेका मासु पसलको गुणस्तर मापन गर्ने उद्धेश्यले जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय, व्यास नगरपालिका, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गुणस्तर तथा नापतौल कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।