क्यान्सर पीडितलाई तनहुँ समाज हङकङकाे करिब चार लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्यान्सर पीडितलाई तनहुँ समाज हङकङकाे करिब चार लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०८०, सोमबार

    दमाैली । तनहुँ समाज हङकङले एक ब्लड क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । समाजले तनहुँको भानु नगरपालिका–१३ पोखरीछाप निवासी ५२ वर्षीया क्यान्सर पीडित जमुना गुरुङलाई आर्थिक सहयोग गरेको हो ।

    गुरुङलाई नगद रु ३ लाख ७५ हजार सोमबार दमौलीमा समाजका पूर्व अध्यक्षहरु जङ्ग थापा र भीमराज गुरुङले संयुक्त रुपमा हस्तान्तरण गरे ।

    एक वर्षदेखि क्यान्सरबाट ग्रसित भइ उपचारको क्रममा रहेकी गुरुङलाई विभिन्न सिलसिलमा हङकङ पुगेका ५७ जना तनहुँङ्गेबाट सङ्कलन गरिएको रु २१ हजार दुई सय ५४ हङकङ डलर हस्तान्तरण गरिएको समाजका पूर्व अध्यक्ष गुरुङले जानकारी दिए।

    सहयोग रकम हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष थापाले विभिन्न रोगको सिकार बनेकाहरुको घाउमा मलम लगाउन पाउदा खुशी मिलेको बताए।

    तनहुँ समाज हङकङले हालसम्म रु आठ जना मिर्गौला पीडित, एक जना मुटु रोगी, करेण्ट लागेर हात गुमाएका एक जनालाई र एक जना क्यान्सर पीडितलाई गरि लाखौं सहयोग गरिसकेको छ ।

    यसका साथै विभिन्न प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई पनि समाजले सहयोग गर्दै आएको छ । विसं २०७२ सालको भूकम्प पश्चात जिल्ला विपद् कोषलाई रु तीन लाख ५० हजार र २४ वटा विद्यालयलाई जस्तापाता तथा नगद गरी रु १२ लाख भन्दा बढी आर्थिक सहयोग गरेको थियो ।

    समाजले जिल्लाको शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा पनि ठुलो आर्थिक सहयोग गर्दै आएको छ । भिमाद–४, साराडाँडा स्थित खानेपानी आयोजनालाई रु तीन लाख ८७ हजार, शुक्लागण्डकी नगरपालिका थप्रेकमा खानेपानीलाई रु तीन लाख र क्यामिन कोटथोकमा खानेपानी आयोजनालाई रु पाँच लाख आर्थिक सहयोग गरेको समाजका पूर्व अध्यक्ष गुरुङले बताए।

    समाजले कोभिड सङ्क्रमणका बेला तनहुँका १० वटै स्थानीय तहलाई नगद रु १५÷१५ हजार र व्यास नगर कोभिड अस्पताललाई रु दुई लाख सहयोग गरेको थियो । भानु जन्मस्थलमा तनहुँ समाज हङकङ पुस्कालय निर्माणमा रु पाँच लाख, प्रत्येक वर्ष तनहुँका १० वटा विद्यालयमा अध्ययनरत बहुअपाङ्गता भएका बालबालिकालाई निरन्तर ७ वर्षदेखि सहयोग गरेको पनि समाजले जानकारी दिएको छ ।