सुत्केरी गराउन आएकी तनहुँकी शर्मिलाको अस्पतालमै मृत्यु, शिशु पनि रहेनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सुत्केरी गराउन आएकी तनहुँकी शर्मिलाको अस्पतालमै मृत्यु, शिशु पनि रहेनन्

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०८०, मंगलवार

    पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) सुत्केरी गराउने क्रममा आमा र नवजात शिशुको निधन भएको छ । तनहुँको व्यास नगरपालिका १२ कमलबारीकी २६ वर्षे शर्मिला दरै र उनकै नवजात शिशुको सोमबार राति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । शर्मिला २८ गते गण्डकी अस्पताल भर्ना भएकी थिइन् ।

    सुत्केरी हुने मिति जेठ २१ गते चिकित्सकले दिएकै आधारमा दमौली अस्पताल जाँदा चिकित्सक नभएको भन्दै स्वास्थ्यकर्मीले घर फर्काइदिएका थिए । त्यतिबेला अवस्था सामान्य रहेकाले १ सातापछि पोखरा जान स्वास्थ्यकर्मीले सुझाए अनुसार शर्मिला पति कृष्णका साथमा २८ गते पोखरा आएकी थिइन् । रोजगारीका क्रममा कुवेत रहेका पत्नीको सुत्केरी हुने मिति नजिकिएपछि गत सातामात्रै कृष्ण घर आएका थिए ।

    सोमबार बिहान ११ तिर स्वास्थ्यकर्मीले शर्मिलालाई बेथा लाग्ने औषधी दिएका थिए । दिउँसो ४ बजेतिर अर्को डोज औषधी दिएलगत्तै अवस्था बिग्रेको आफन्तले जनाएका छन् । राति ११ बजेतिर शर्मिलाको निधन भएको र लगत्तै पेटबाट शिशु निकालिएको थियो । शिशुको पेटमै निधन भइसकेको चिकित्सकले जनाएका छन् । पति कृष्णसहित शर्मिलाका आफन्तले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाहीकै कारण आमा र शिशुको निधन भएको आरोप लगाएका छन् ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको गण्डकी अस्पतालका निर्देशक डा. भरत खत्रीले आमा र शिशुलाई बचाउन हरसम्भव प्रयास गरे पनि नसकिएको भन्दै यसमा अस्पतालका तर्फबाट कुनै लापरबाही नभएको बताए ।

    गण्डकी अस्पतालमा स्त्री तथा प्रसूती रोग विशेषज्ञ राजेन्द्र अधिकारीले पाठेघरमा बच्चा बस्ने ठाउँको पानी फोक्सोमा गएका कारण शर्मिलाको निधन भएको बताउँछन् । यसलाई मेडिकल भाषामा एम्युनिटिक फ्ल्युड इम्बोलिजम भनिन्छ । निकै कममा देखिने यो जटिलता शर्मिलामा देखिएको उनको भनाइ छ । समस्या देखिएपछि चिकित्सकको टोलीले बचाउन सक्दो प्रयास गरेको दाबी डा. अधिकारीले गरे । (आदर्श समाज)